Sunday, March 30, 2014

तिम्रो धड्कनको तालसँग

तिम्रो धड्कनको तालसँग सास फेर्न चाहन्छु
अँगालोमा तिमीलाई हरपल बेर्न चाहन्छु

अतीत र भविष्य बिर्सी, खुसी छौं मिलनमा
यो पललाई वर्तमानले मात्र घेर्न चाहन्छु

समाजले उल्फत गरेर के भो? तिमी त मेरो साँचो प्रेम
तिम्रोलागि सिर्फ मनको कुरा टेर्न चाहन्छु

तिमीसँगको एक पल पनि मेरो ठुलो प्राप्ति
हजार समस्या र चुनौती मस्तिष्कबाट केर्न चाहन्छु

बिर्सेर आज हरथोक, बिपनामै
सपना र कल्पनाका कुरा हेर्न चाहन्छु

Tuesday, March 25, 2014

अलग जिन्दगीको खोजीमा

अलग जिन्दगीको खोजीमा अमुल्य जीवन मासिन्छ
रङ्गीन सपनाका पछि लाग्दा बिपनाका रङ्ग नासिन्छ

साना सयौं खुसीहरू महत्वकांछाले मार्दछ
भोली-भोली सुत्रले जोबनका रहर टार्दछ

रित्तिएर के भो? रित्तोले त नयाँपन भर्न सक्छ
थुपार्ने मात्र गर्छु भन्दा भोग गर्ने अरुनै पर्न सक्छ

अन्त्य राम्रो भएनी को भो? सुरुवात नभएपछि
उपहार पाउनुको के अर्थ भो ? स्वीकार्न नगएपछि

अलग जिन्दगीको खोजीमा अमुल्य जीवन मासिन्छ
रङ्गीन सपनाका पछि लाग्दा बिपनाका रङ्ग नासिन्छ