Tuesday, August 1, 2017

कहिल्यै नढलेको म, आज ढलेछु

कसैको आधार थिएँ, आफूनै लडेछु
कहिल्यै नढलेको म, आज ढलेछु

मलाई नबुझ्नेले मलाई चट्टानझैँ काडा भन्ठान्छन्
तर मभित्र पनि फुलको झैँ कोमल पत्रहरू छन्
ओइलिएर अन्तस्करणमा, अब त धेरै गलेछु
कहिल्यै नढलेको म, आज ढलेछु

पग्लेर आफ्नै आँशुले आफैलाई धोएछु
कहिल्यै नरोएको म, आज रोएछु
बाहिर आँशुले भिझे पनि, भित्र जलेछु
कहिल्यै नढलेको म, आज ढलेछु

कसैको आधार थिएँ, आफैँ लडेछु
कहिल्यै नढलेको म, आज ढलेछु

सानो ठाउँमा हाँसीखुसी बाँच्न मलाई आउँछ |

संसाररुपी समुन्द्रमा मेरो सानो ठाउँ छ |
सानो ठाउँमा हाँसीखुसी बाँच्न मलाई आउँछ |

छुनु छैन चन्द्रमा टेक्नु छैन मङ्गल |
सानै मेरो संसार पनि मलाई ठूलो जङ्गल |
वरिपरी खुसी भए टाढा को धाउँछ ?
सानो ठाउँमा हाँसीखुसी बाँच्न मलाई आउँछ |

पानी पाए सोच्दिन म  खोलो हो कि कुलो |
किन ठूलो सोच्नु पर्यो ? म त ब्रम्हाण्डको धूलो |
जसरी एक पात्र लीलामा निस्फिक्री गाउँछ,
सानो ठाउँमा हाँसीखुसी बाँच्न मलाई आउँछ |

संसाररुपी समुन्द्रमा मेरो सानो ठाउँ छ |
सानो ठाउँमा हाँसीखुसी बाँच्न मलाई आउँछ |