Sunday, November 6, 2016

पात्रहरू र पाठशाला

ब्रम्हले बिछ्याएका प्रारब्धका बिस्कुनबाट
फुत्त फुत्त ब्यूँझन्छन् पात्रहरू
अनि छरिन्छन्
संसारी पाठशालामा बहुसंख्य छात्रा छात्रहरू

बन्न बनाउन, आफू चिनाउन
तल्लीन छन् ती अस्तिवका भोकाहरू
बेग्लोपन दर्शाउन, आफूतिर अरूको ध्यानाकर्षण गराउन
ब्यग्र छन् ती खोल्नलाई अवसरका हर ढोकाहरू

जसरी बस्तुका अनेक छन् आकार
त्यसरी नै पात्रहरूका पनि अनेक छन् प्रकार

कोही छन् रापिला घाम, कोही छन् तेज आँधी
कोही छन् साधु, कोही अपराधी

कोही छन् रट्दै बार्हखरी, कोही थाप्दै छन् बिद्यावारदी
कोही छन् सबका मनका खुशी, कोही बनाउछन् सबलाई दुखी

को के बन्छन्, कस्ले के भन्छन्
छैन कसैको लेखाजोखा

कोही आफूलाई बन्धकी राखेर आँफैलाई खोजी हिंड्छन्
कोही अरूलाई थाती राखेर सिर्फ आफूलाई रोज्छन्

खेल्छन् पात्रहरू अाआफ्नो भूमिका

यी खेलमा कोही जित्छन् कोही हार्छन्

जित्नेहरू यही चोलामा मोक्ष हात पार्छन्
भवसागर आफू पनि तर्छन् अरूलाई पनि तार्छन्

हार्नेहरू जित्नु के हो थाहै नपाई जीवन टार्छन
कर्मलाई एउटाबाट अर्को जूनीमा सार्छन्

कोही भने आफू पनि मर्छन अरूलाई पनि मार्छन्

आखिर हरेकले एकदिन
रस सुकेको पात झैं
कि त जल्नु पर्छ, कि त गल्नु पर्छ
अनि बिलाउनु पर्छ शून्यमा

जबसम्म पुरै ठोकिन्नन् कर्मका किलाहरू
तबसम्म सृष्टिको नाँचमा
प्रादुर्भाव भईरहन्छन् पात्रहरू
अनि प्रदर्शनी चलिराख्छ लीलाहरूको
र त
प्रारब्धको इन्धन पिठ्यूँमा बोकेर
संसारी पाठशालामा पसिरहन्छन् पात्रहरू
अनि
जबसम्म आफू मात्र एक पात्र भएको पत्तो पाउँदैनन्
पाठशालामै बसिरहन्छन् पात्रहरू
पाठशालामै फसिरहन्छन् पात्रहरू

जबसम्म आफू मात्र एक पात्र भएको पत्तो पाउँदैनन्
पाठशालामै बसिरहन्छन् पात्रहरू
पाठशालामै फसिरहन्छन् पात्रहरू

No comments:

Post a Comment