Monday, October 23, 2017

भर्याङ्ग

हजुर म भर्याङ्ग
ह्वांग नै ह्वांग भएको
अरुलाई उकाल्ने
दह्रो भर्याङ्ग

हो मेरो उत्पति हुँदा
मलाई कसैले काठको बनाएथे
माटोको बनाएथे, ढुंगाको बनाएथे

तर आफूलाई उकाल्न अनि उकास्न
कतिले मलाई मान्छेका टाउकाको बनाए
मान्छेका गरिबी अनि मजबुरीको बनाए
निर्दोषी र सरलताको बनाए

माथि उक्लन खोज्नेहरूले
मलाई थरी थरीको बनाए
किसिम किसिमको बनाए
अनि मेरा पुर्जा पुर्जामा टेकेर आफ्नो गन्तब्य पुगे
मेरा अङ्ग अङ्ग  कुल्चेर आफ्ना अभिष्ट पुरा गरे

कैयौंले मलाई माथि उक्लने  बित्तिकै चटक्क बिर्सिदिए
माथि पुग्ने बित्तिकै मलाई चसक्क दुख्नेगरी लडाइ पनि दिए
म कयौं पल्ट भाँचिए पनि

तैपनि मैले धेरैलाई उकालें
धेरैलाई उकासें
तर आफू कहिल्यै उक्लिन
बरु चापले फुक्लिदै गएँ
तर उक्लने मन गरिन

भर्याङ्ग न परे
केवल उकाल्ने अनि उकास्ने मेरो धर्म

हजुर म त भर्याङ्ग
ह्वांग नै ह्वांग भएको
थरी थरीको
किसिम किसिमको स्वरूप भएको
प्राय ठिङ्ग उभिइ मात्र रहने
दुब्लो पातलो अनि कुरुप देखिने
केवल अरुलाई उकास्ने अनि उकाल्ने
सधैं अरुले कुल्चीइमात्र रहने
निरिह भर्यांङ्ग
निरिह भर्यांङ्ग

No comments:

Post a Comment