Thursday, February 21, 2013

साक्षी

भावनाको घोप्टेभीर
मनको जोगीमारामा
घुम्ती बदल्छ
अनि आकांक्षाका खोरियामा
कुकुर जोधाइ सुरु हुन्छ

रित्तोपन लुकाऊँदै
शासकहरु हात बाँधेर
मुकुण्डो कसाऊँछन्
अनि एउटा नौटंकी
जिन्दगी सुरु गर्छ

पहिराहरु आतुर छन्
धरातल उल्टाऊँन
भूकम्पहरु खुट्टा उचाल्छन
धर्ती हल्लाऊँन
बाढीहरु सल्बल छन्
सिर्जना बगाऊँन

ध्वजा पताका फिजारिन्छ
रङ्गमञ्च सजिन्छ
गीत रचिन्छ
सङ्गीत पस्किइन्छ
बिस्तारै चिहान उठ्न थाल्छ
सपना बिपना जस्तै लाग्न थाल्छ
दर्शक भुलिन्छ्न्
सिठ्ठी बजाइन्छ
ताली पड्काइन्छ

विश्वविद्यालयहरु निरर्थक हुन्छन्
प्राध्यापकहरु घुँडा टेकेर
ज्ञानको भीख माग्न थाल्छन्
ढुंगाका  मुर्तीहरु
पैतालाका डोबहरुले भरिन्छन्
बुद्धिजीवीहरु भँडखारामा पुरिन्छन्
तक्मा भिर्ने मै हुँ भन्नेहरु
बन्दीगृहका कैदीमा चुनिन्छन्

कोलाहल ठप्प छ
मस्तिष्क थाङ्नामा सुत्दछ
निडर निरुत्साहित
एउटा साक्षी
सिर्फ हेरिरहन्छ
सुनिरहन्छ
आँखा खोलेर अनि आँखा बन्द गरेर
सधैं ब्युँझिरहन्छ
अनि ब्युँझ्याइरहन्छ
अनवरत
एउटा साछी ब्युँझिरहन्छ
ब्युँझ्याइरहन्छ

No comments:

Post a Comment