Saturday, September 14, 2013

भत्केका पुलहरू

विचारका बाफहरूको संगमले 
पुलहरू बन्ने गर्छन्
अनि 
तापक्रमहरू घट्दै गएपछि 
पुलहरू गर्ल्यामगुर्लुम
भत्कदै जान्छन्

पुलका भग्नावशेषमुनि 
संवेदनाहरू थिचिन्छन्
च्यापिन्छन् 
उत्साहहरू निचोरिन्छन् 

चिसिंदै जाँदा 
वरफका टुक्राहरूको गाईजात्रामा 
युगहरू चाउरिइदै जान्छन्

तैपनि
विचारका बाफहरू 
निरन्तर पुलहरू बाँध्दै जान्छन् 
समय फगत हेरिरहन्छ

उत्सुकहरू अनुसन्धान गरिरहन्छन् 
तर तिनले पनि त 
विचारकै बाफका थुप्राहरू थप्ने न हुन् 
आखिर तापक्रमको घटाईमा 
सब चकनाचुर भैहाल्छन् 

समय डाकिरहेछ 
तापक्रम घट्न नदिने चेतनालाई 

भत्केका पुलहरू ब्यग्र भई कुरिरहेछन् 
भत्केका पुलहरू ब्यग्र भई कुरिरहेछन्

No comments:

Post a Comment