Monday, January 4, 2016

न आर भयो न पार भयो, मायामा सधैं छेकबार भयो

न जीत भयो न हार भयो, मायामा सधैं प्रहार भयो

बाचौं कसरी बाचौं, मनभित्र पुरै मरेको छु
मरौं कसरी मरौं, पर्खि बस्ने बाचा गरेको छु
जलेर सब यौवनका दिनहरू, सताउने मुस्लो खार भयो
न आर भयो न पार भयो, मायामा सधैं छेकबार भयो

रात ओढेर सुतेको छु, पर्खंदै सुनौलो घामलाई
आसुँको मलमले पुरेको छु, मुटुको सबै डामलाई
न दुबो न तुलसी, जिन्दगी उखेलिने झार भयो
न आर भयो न पार भयो, मायामा सधैं छेकबार भयो

नदेखिने आकाशसरी भएछु, बादलले सबै छोपेको
फुल्दै नफुल्ने फूल भएछु, धेरै पहिले रोपेको
न सुर भयो न ताल भयो, जीवन बसुरे झन्कार भयो
न आर भयो न पार भयो, मायामा सधैं छेकबार भयो

न जीत भयो न हार भयो, मायामा सधैं प्रहार भयो
न आर भयो न पार भयो, मायामा सधैं छेकबार भयो

No comments:

Post a Comment