Saturday, December 27, 2014

सत्यहरू

साना ठूला
अग्ला होचा
सतही गहिरा
पुराना नयाँ
अस्वीकृत स्वीकृत
"सत्य" हरू धेरै छन्

कति सत्यहरू
भीडमा किचिएर जान्छन्
कति सत्यहरू
फक्रन नपाउँदै
चुँडिएर जान्छन्

कति फन्दामा फस्छन्
कति नखुल्ने पोकाभित्र पस्छन्
कति विचारमै मात्र बस्छन्
कति खुम्चिदै खस्छन्

कति सत्यहरू
सम्पन्न अनि शक्तिशालीको भोजमा
खानासँगै चपाइदै जान्छन्
प्रायोजित सत्यहरू भने
बारम्बार दोहोर्याइदै अनि छपाइदै जान्छन्
कति अन्धाधुन्द जपाइदै जान्छन्
कति धकेली धकेली धपाइदै जान्छन्

तर शाश्वत सत्यहरू सधैं स्थिर छन्
तिनको स्वर
तिनको शक्ति
तिनको सामर्थ्य
स्वतः सिद्ध छ

सदा सादा
स्वच्छ अनि साझा
स्वाङ अनि स्वार्थ रहित    
शाश्वत सत्यहरू
थाहा पाउन खोजे
पहिल्याउन सके
स्पष्ट अनि सर्बश्रेष्ठ छन्

No comments:

Post a Comment