Friday, December 1, 2017

नेपालमा पनि सम्वृद्धि पक्कै आउँछ ।

सधैँ आकाशमा बादल कहाँ छाउँछ ?
नेपालमा पनि सम्वृद्धि पक्कै आउँछ ।

बिकल्प बनेर जब जाग्नेछौँ मोतिका मनहरू
हट्नेछन् तब काला धुवाँ, बाधा र बन्धनहरू
अनि देशमा बिकासको मुहान रसाउँछ
नेपालमा पनि सम्वृद्धि पक्कै आउँछ ।

भनेर मात्र होइन, बनेर कर्मठ आजै र अहिले
देखाउँछौँ जब हामी सबै आ-आफूनै पहिले
अनि सन्तानले आमाको मुहार हसाउँछ
नेपालमा पनि सम्वृद्धि पक्कै आउँछ ।

सधैँ आकाशमा बादल कहाँ छाउँछ ?
नेपालमा पनि सम्वृद्धि पक्कै आउँछ ।

Monday, October 23, 2017

भर्याङ्ग

हजुर म भर्याङ्ग
ह्वांग नै ह्वांग भएको
अरुलाई उकाल्ने
दह्रो भर्याङ्ग

हो मेरो उत्पति हुँदा
मलाई कसैले काठको बनाएथे
माटोको बनाएथे, ढुंगाको बनाएथे

तर आफूलाई उकाल्न अनि उकास्न
कतिले मलाई मान्छेका टाउकाको बनाए
मान्छेका गरिबी अनि मजबुरीको बनाए
निर्दोषी र सरलताको बनाए

माथि उक्लन खोज्नेहरूले
मलाई थरी थरीको बनाए
किसिम किसिमको बनाए
अनि मेरा पुर्जा पुर्जामा टेकेर आफ्नो गन्तब्य पुगे
मेरा अङ्ग अङ्ग  कुल्चेर आफ्ना अभिष्ट पुरा गरे

कैयौंले मलाई माथि उक्लने  बित्तिकै चटक्क बिर्सिदिए
माथि पुग्ने बित्तिकै मलाई चसक्क दुख्नेगरी लडाइ पनि दिए
म कयौं पल्ट भाँचिए पनि

तैपनि मैले धेरैलाई उकालें
धेरैलाई उकासें
तर आफू कहिल्यै उक्लिन
बरु चापले फुक्लिदै गएँ
तर उक्लने मन गरिन

भर्याङ्ग न परे
केवल उकाल्ने अनि उकास्ने मेरो धर्म

हजुर म त भर्याङ्ग
ह्वांग नै ह्वांग भएको
थरी थरीको
किसिम किसिमको स्वरूप भएको
प्राय ठिङ्ग उभिइ मात्र रहने
दुब्लो पातलो अनि कुरुप देखिने
केवल अरुलाई उकास्ने अनि उकाल्ने
सधैं अरुले कुल्चीइमात्र रहने
निरिह भर्यांङ्ग
निरिह भर्यांङ्ग

Tuesday, August 1, 2017

कहिल्यै नढलेको म, आज ढलेछु

कसैको आधार थिएँ, आफूनै लडेछु
कहिल्यै नढलेको म, आज ढलेछु

मलाई नबुझ्नेले मलाई चट्टानझैँ काडा भन्ठान्छन्
तर मभित्र पनि फुलको झैँ कोमल पत्रहरू छन्
ओइलिएर अन्तस्करणमा, अब त धेरै गलेछु
कहिल्यै नढलेको म, आज ढलेछु

पग्लेर आफ्नै आँशुले आफैलाई धोएछु
कहिल्यै नरोएको म, आज रोएछु
बाहिर आँशुले भिझे पनि, भित्र जलेछु
कहिल्यै नढलेको म, आज ढलेछु

कसैको आधार थिएँ, आफैँ लडेछु
कहिल्यै नढलेको म, आज ढलेछु

सानो ठाउँमा हाँसीखुसी बाँच्न मलाई आउँछ |

संसाररुपी समुन्द्रमा मेरो सानो ठाउँ छ |
सानो ठाउँमा हाँसीखुसी बाँच्न मलाई आउँछ |

छुनु छैन चन्द्रमा टेक्नु छैन मङ्गल |
सानै मेरो संसार पनि मलाई ठूलो जङ्गल |
वरिपरी खुसी भए टाढा को धाउँछ ?
सानो ठाउँमा हाँसीखुसी बाँच्न मलाई आउँछ |

पानी पाए सोच्दिन म  खोलो हो कि कुलो |
किन ठूलो सोच्नु पर्यो ? म त ब्रम्हाण्डको धूलो |
जसरी एक पात्र लीलामा निस्फिक्री गाउँछ,
सानो ठाउँमा हाँसीखुसी बाँच्न मलाई आउँछ |

संसाररुपी समुन्द्रमा मेरो सानो ठाउँ छ |
सानो ठाउँमा हाँसीखुसी बाँच्न मलाई आउँछ |