Showing posts with label Nepali Song. Show all posts
Showing posts with label Nepali Song. Show all posts

Monday, October 23, 2017

भर्याङ्ग

हजुर म भर्याङ्ग
ह्वांग नै ह्वांग भएको
अरुलाई उकाल्ने
दह्रो भर्याङ्ग

हो मेरो उत्पति हुँदा
मलाई कसैले काठको बनाएथे
माटोको बनाएथे, ढुंगाको बनाएथे

तर आफूलाई उकाल्न अनि उकास्न
कतिले मलाई मान्छेका टाउकाको बनाए
मान्छेका गरिबी अनि मजबुरीको बनाए
निर्दोषी र सरलताको बनाए

माथि उक्लन खोज्नेहरूले
मलाई थरी थरीको बनाए
किसिम किसिमको बनाए
अनि मेरा पुर्जा पुर्जामा टेकेर आफ्नो गन्तब्य पुगे
मेरा अङ्ग अङ्ग  कुल्चेर आफ्ना अभिष्ट पुरा गरे

कैयौंले मलाई माथि उक्लने  बित्तिकै चटक्क बिर्सिदिए
माथि पुग्ने बित्तिकै मलाई चसक्क दुख्नेगरी लडाइ पनि दिए
म कयौं पल्ट भाँचिए पनि

तैपनि मैले धेरैलाई उकालें
धेरैलाई उकासें
तर आफू कहिल्यै उक्लिन
बरु चापले फुक्लिदै गएँ
तर उक्लने मन गरिन

भर्याङ्ग न परे
केवल उकाल्ने अनि उकास्ने मेरो धर्म

हजुर म त भर्याङ्ग
ह्वांग नै ह्वांग भएको
थरी थरीको
किसिम किसिमको स्वरूप भएको
प्राय ठिङ्ग उभिइ मात्र रहने
दुब्लो पातलो अनि कुरुप देखिने
केवल अरुलाई उकास्ने अनि उकाल्ने
सधैं अरुले कुल्चीइमात्र रहने
निरिह भर्यांङ्ग
निरिह भर्यांङ्ग

Monday, January 4, 2016

मुटुभरी माया भरेर दिएँ, खाली फर्काइदियौ

प्रेमको प्रस्ताब लेखेर दिएँ, गाली फर्काइदियौ
मुटुभरी माया भरेर दिएँ, खाली फर्काइदियौ

साँचो मायाको हुरी, दबाइ बतास बनायौ
माया मनमै साँची, दुबैलाई हतास बनायौ
मायाको मूल खोलेर दिएँ, टाली फर्काइदियौ
मुटुभरी माया भरेर दिएँ, खाली फर्काइदियौ

मनको मीत म हुँदै, अरु नै कोही खोज्यौ
मह चाख्दै नचाखी, पानीको स्वाद रोज्यौ
मायाको जग उठाइ दिएँ, ढाली फर्काइदियौ
मुटुभरी माया भरेर दिएँ, खाली फर्काइदियौ

प्रेमको प्रस्ताब लेखेर दिएँ, गाली फर्काइदियौ
मुटुभरी माया भरेर दिएँ, खाली फर्काइदियौ

न आर भयो न पार भयो, मायामा सधैं छेकबार भयो

न जीत भयो न हार भयो, मायामा सधैं प्रहार भयो
न आर भयो न पार भयो, मायामा सधैं छेकबार भयो

बाचौं कसरी बाचौं, मनभित्र पुरै मरेको छु
मरौं कसरी मरौं, पर्खि बस्ने बाचा गरेको छु
जलेर सब यौवनका दिनहरू, सताउने मुस्लो खार भयो
न आर भयो न पार भयो, मायामा सधैं छेकबार भयो

रात ओढेर सुतेको छु, पर्खंदै सुनौलो घामलाई
आसुँको मलमले पुरेको छु, मुटुको सबै डामलाई
न दुबो न तुलसी, जिन्दगी उखेलिने झार भयो
न आर भयो न पार भयो, मायामा सधैं छेकबार भयो

नदेखिने आकाशसरी भएछु, बादलले सबै छोपेको
फुल्दै नफुल्ने फूल भएछु, धेरै पहिले रोपेको
न सुर भयो न ताल भयो, जीवन बसुरे झन्कार भयो
न आर भयो न पार भयो, मायामा सधैं छेकबार भयो

न जीत भयो न हार भयो, मायामा सधैं प्रहार भयो
न आर भयो न पार भयो, मायामा सधैं छेकबार भयो

Thursday, December 24, 2015

तिमीले सम्झन छोडेपछि बेचैनी छाएको छ

न फोन न इमेल न कुनै सन्देश आएको छ
तिमीले सम्झन छोडेपछि बेचैनी छाएको छ

आउला याद कुनैबेला तिमीलाई, भनि कुरेको छु
मिलनका मीठा सम्झनाले, न्यास्रो पुरेको छु
झझल्कोहरूले तिम्रो मात्र, मुहार पाएको छ
तिमीले सम्झन छोडेपछि, बेचैनी छाएको छ

सक्दिन सोच्न किन होला, मेरो याद नआएको
साँच्चै भुल्यौ त तिमीले, नबिर्सने कसम खाएको
आजकल मुटुले एक्लोपनसँग मीत लाएको छ
तिमीले सम्झन छोडेपछि बेचैनी छाएको छ

न फोन न इमेल न कुनै सन्देश आएको छ
तिमीले सम्झन छोडेपछि बेचैनी छाएको छ

Wednesday, December 23, 2015

मेरो मनमा को छ, तिमीलाई थाहा भए

गाउँथे म पनि सधैं, चोखो मायाको जय
मेरो मनमा को छ, तिमीलाई थाहा भए

म हावा तिमी छाल झैँ, बन्न पाए साथी
तिमी नाँच्थ्यौ होला, म उराल्थे माथि
थामिन्थ्यो होला साथ, बग्नेथे सबै भय
मेरो मनमा को छ, तिमीलाई थाहा भए

सङ्लो पानीमा रातमा, डुब्छ तारा पनि
लेखेको छु पत्र, पढ़छ्यौकी एकपल्ट भनि
हुन्थ्योकी तिमी मानेर, हाम्रो प्रितको तय
मेरो मनमा को छ, तिमीलाई थाहा भए

गाउँथे म पनि सधैं, चोखो मायाको जय
मेरो मनमा को छ, तिमीलाई थाहा भए

Tuesday, December 22, 2015

तिमीसँग बिताएका दुई पलले नै आजकल जीवन धानिरहेछ

तिमी नहुँदा कस्तो हुन्छ ? दिन दिनै जिन्दगीले जानिरहेछ
तिमीसँग बिताएका दुई पलले नै आजकल जीवन धानिरहेछ

तिम्रो साथ मेरो उर्जा रहेछ, नत्र किन जीवन ठप्प रोकिन्थ्यो ?
बाटो देखाउने आँखा तिमी रहेछौ, नत्र किन जताततै ठोकिन्थ्यो ?
हजारौं आँखाहरू छोडेर यो मन तिम्रै आँखाहरू छानिरहेछ
तिमीसँग बिताएका दुई पलले नै आजकल जीवन धानिरहेछ

तिमी र म हुँदा जे थियो, त्यो हरायो, फेरी कहिल्यै भेटिएन
तिमी अर्कै बाटो गयौ म अर्कै बाटो तर याद कहिल्यै मेटिएन
तिमी जहाँ गए पनि मलाई तिम्रो मीठो सम्झनाले तानिरहेछ
तिमीसँग बिताएका दुई पलले नै आजकल जीवन धानिरहेछ

तिमी मेरो प्राण रहेछौ, छैनौ अझैपनि मेरो आँखा भन्दा टाढा
सचेथें बिर्सनेछु बिस्तारै तर याद हुँदैगयो झन् झन् गाढा
तिम्रो चञ्चल हेराइको तीरले अझै पनि मुटुमा हानिरहेछ
तिमीसँग बिताएका दुई पलले नै आजकल जीवन धानिरहेछ

तिमी नहुँदा कस्तो हुन्छ ? दिन दिनै जिन्दगीले जानिरहेछ
तिमीसँग बिताएका दुई पलले नै आजकल जीवन धानिरहेछ

Sunday, November 15, 2015

आऊ साथ हुँदा केहीबेर सँगै हाँसौं

आऊ साथ हुँदा केहीबेर सँगै हाँसौं
जीवनहीन पलहरू बिर्सेर केहीबेर साँच्चै बाँचौं

हावाको सुस्केरामा निस्फिक्री पात नाचेझैं नाँचौं
हातमा हात समाई छातीमा छाती टासौं

साँचो माया उद्याएर हरेक दुबिधा तासौं
मायाकै लागि जुवामा सम्पूर्ण प्राप्ति मासौं

उम्लिएका चाहना सबै आजै चुहाई नाँसौं
समय साक्षी राखेर नभुल्ने सम्बन्ध गाँसौं

आऊ साथ हुँदा केहीबेर सँगै हाँसौं
जीवनहीन पलहरू बिर्सेर केहीबेर साँच्चै बाँचौं

Friday, October 30, 2015

तिमीसँग मीठो माया बसाउँ कसरी ?

बाटेको छु प्रीतको डोरी कसाउँ कसरी ?
तिमीसँग मीठो माया बसाउँ कसरी  ?

आकासले धर्तीलाई हेरे झैँ हेरिरहन्छु
आखाँ मतिर मोडछेऊ कि भनेर कुरिरहन्छु
आँखा जुद्धा गर्मी चढ्छ बताउँ कसरी ?
घामले झैँ तिमीलाई पनि तताउँ कसरी ?

सोच्छु फूलझैँ फक्रिएर खुल्न पाए हुन्थ्यो
मायाको प्रस्ताब एक पल्ट राख्न पाए हुन्थ्यो
बतास झैँ चञ्चल छ मन जताउँ कसरी ?
तिमीमा पनि यही हाल सारी सताउँ कसरी ?

बाटेको छु प्रीतको डोरी कसाउँ कसरी ?
तिमीसँग मीठो माया बसाउँ कसरी  ?

Saturday, October 17, 2015

जब डुब्छु कल्पनामा

केही दिन अघि ( डिसेम्बर ४) स्वर सम्राट नारायण गोपाल यस लोकबाट बिदा भएको २३ बर्ष पुगेको थियो | वहाँका गीतहरू मलाई सार्है मन छुने लाग्छन् | तिनमा स्वर र संगीत मात्र राम्रो नभएर शब्द पनि गहिरा र वजनदार हुने गर्छन् | वहाँको सम्झना गर्दा आज एउटा गीत लेख्ने मन लाग्यो | एउटा सानो प्रयास तल पेश गरेको छु |

जब डुब्छु कल्पनामा

यथार्थलाई थाती राखी जब डुब्छु कल्पनामा
तिमी र म प्रेम गर्छौं देखे जस्तै सपनामा  

त्यतिबेला भावनाले निखार्दिन्छन् मनका भय
अनि तिम्रो सम्झना बन्छ तनको मधुर लय

प्रतिबन्धहरूबीच बिपनामा म एक कैदी सही
कल्पनामा सम्बन्ध गाँस्न मलाई छैन मनाही

भन्नेहरुले भनिरहुन् है तिमीलाई म पाउन सक्दिन
तर्कनाको बाटोगरी तिम्रो आलिङ्गनमा म आउन रोक्दिन

फलाक्नेले फलाकुन है म हारको दृष्टान्त भनेर
मेरो चित्तमा हर हार जल्छन् जीतका राप बनेर

यथार्थलाई थाती राखी जब डुब्छु कल्पनामा
तिमी र म प्रेम गर्छौं देखे जस्तै सपनामा   ||

Thursday, January 1, 2015

समाजको जालोभित्र चुपचाप माया गर्नु पर्ने

समाजको दायराले उनलाई सुटुक्क भेट्न नमिल्ने
भेट भइहाले पनि मनका हर तिर्खा मेट्न नमिल्ने

आँखा आँखा ठोक्किरहने उनीसँग मात्र बोल्न नमिल्ने
के छ कसो छ भन्दा बाहेक अन्य भावना खोल्न नमिल्ने

कि त उनलाई भुल्नु पर्ने कि त बदनामी रोज्नु पर्ने
आफ्नै नजिक माया भएपनि अन्त कतै खोज्नु पर्ने

रित्तो एउटा यथार्थलाई कल्पनाले भर्नु पर्ने
समाजको जालोभित्र चुपचाप माया गर्नु पर्ने

Wednesday, December 24, 2014

नजिक आउँदा तिमी अलौकिक आभा छरेर जान्छेऊ

नजिक आउँदा तिमी अलौकिक आभा छरेर जान्छेऊ
आँखाका आश्रममा हुँदा सुमधुर सम्झना भरेर जान्छेऊ

अर्चानीय एक देवीको आभास दिलाएर जान्छेऊ
मुस्कानको झरना माछालाईझैँ पिलाएर जान्छेऊ

कोमल नयनका कान्तिले उज्यालो बनाएर जान्छेऊ
आकर्षणको करेन्टले पुरै शरीर झन्झनाएर जान्छेऊ

मीठा बातले मेरो ब्रम्हाण्डमा रहरहरू जगाएर जान्छेऊ
आत्मियता अवतरण गराई दुविधाहरू बगाएर जान्छेऊ

छुट्टिने बेलामा फर्केर एकपल्ट पुलुक्क हेरेर जान्छेऊ
मेरो मुटुलाई पनि आफूसँगै आँचलमा बेरेर लान्छेऊ

नजिक आउँदा तिमी अलौकिक आभा छरेर जान्छेऊ
आँखाका आश्रममा हुँदा सुमधुर सम्झना भरेर जान्छेऊ

Saturday, December 20, 2014

जिन्दगीले जिन्दगीलाई सधैं माया गरिरन्छ

मन भित्र कल्पनाले मीठा कुरा गरिरन्छ 
यथार्थमा आँखाबाट तप् तप् आँशु झरिरन्छ 

मुटुलाई के थाहा ऊ त सपना छरिरन्छ  
छरिएको सपना भने नउम्रदै मरिरन्छ  

एउटा सुख नसक्किदै अर्को दु:ख परिरन्छ
सोचे जस्तो सुन्दर संसार समयसँगै सरिरन्छ

जे भएनी भावनाले उमंगचैं  भरिरन्छ
रङ्गहरूको बगैचामा जिन्दगानी चरिरन्छ

आक्कल झुक्कल देखा पर्ने दुर्घटना टरिरन्छ
साहसका पुलहरूले अप्ठ्यारा पल तरिरन्छ

निराशालाई आशाहरूले एक एक गर्दै हरिरन्छ 
जिन्दगीले जिन्दगीलाई सधैं माया गरिरन्छ

Saturday, November 29, 2014

तिमी पनि एकतर्फी माया गरेर हेर

I always wanted to write songs, sing songs, learn guitar, and be a singer. Well, I have written songs, but no one has sung them yet. I learned guitar by being in company of friends who were very good guitarists and composers. I own an acoustic guitar that gets little of my attention. In fact, one of its strings is so rusted that it needs to be changed. However, I have not had time to take care of it.

Yesterday while I was writing a song, I thought of singing it, and trying my little knowledge of guitar playing. I debated whether I should share it or not but I thought I may regret not sharing than sharing it. Here it is for you. :)

Timipani Ektarfi Maya Garera Hera / तिमी पनि एकतर्फी माया गरेर हेर

तिमी पनि एकतर्फी माया गरेर हेर
मुटुभरी तीता तिरस्कार भरेर हेर

तनमनमा अतृप्त चाहना च्यापेर हेर
छातीभरी सबैतिर तृष्णा छ्यापेर हेर

निधारमा सधैंलाई असफलता छापेर हेर
हरदिन कमजोर हुँदै लुगलुग काँपेर हेर

आफ्नै सासलाई हरपल सरापेर हेर
मृत्यु पर्खर्दैं जीवनका दिन नापेर हेर

तिमी पनि एकतर्फी माया गरेर हेर
मुटुभरी तीता तिरस्कार भरेर हेर

Tuesday, March 25, 2014

अलग जिन्दगीको खोजीमा

अलग जिन्दगीको खोजीमा अमुल्य जीवन मासिन्छ
रङ्गीन सपनाका पछि लाग्दा बिपनाका रङ्ग नासिन्छ

साना सयौं खुसीहरू महत्वकांछाले मार्दछ
भोली-भोली सुत्रले जोबनका रहर टार्दछ

रित्तिएर के भो? रित्तोले त नयाँपन भर्न सक्छ
थुपार्ने मात्र गर्छु भन्दा भोग गर्ने अरुनै पर्न सक्छ

अन्त्य राम्रो भएनी को भो? सुरुवात नभएपछि
उपहार पाउनुको के अर्थ भो ? स्वीकार्न नगएपछि

अलग जिन्दगीको खोजीमा अमुल्य जीवन मासिन्छ
रङ्गीन सपनाका पछि लाग्दा बिपनाका रङ्ग नासिन्छ 

Sunday, July 21, 2013

हो, म हर रात टिल्ल हुनेगरी पिउने गर्छु

हो, म हर रात टिल्ल हुनेगरी पिउने गर्छु
बाँकि रहेको जिन्दगी छिटो छिटो जिउने गर्छु

आँसु नझारी भक्कानिएर धुरु धुरु रुने गर्छु
दु:ख र पीडालाई  रक्सीलेनै धुने गर्छु

उनको माया नपाईकन म त अब जिउन सक्दिन
उनी जसको भए पनि म अरु कसैको हुनै सक्दिन

जीवन जगत संसार अब मेरा लागि हुँदै होइन
एउटै वियोग काफी भयो घाउ भरिने आशै छैन

म देखि मृत्यु डराओस् मलाई कुनै डरै छैन
आज हो कि भोलि अन्त्य मेरो कुनै भरै छैन

हो, म हर रात टिल्ल हुनेगरी पिउने गर्छु
बाँकि रहेको जिन्दगी छिटो छिटो जिउने गर्छु