Friday, July 26, 2013

माया त खिया लागेको खुकुरी पो भएछ

माया त खिया लागेको खुकुरी पो भएछ 
मुटु भने झुण्ड्याएको सुकुटी भएछ 

नसोध अचानोसँगको भेट कस्तो हुन्छ
रहरहरू सिर्फ दापमा कैद भएछ 

बिर्सिएछ जोशिएर  ठोक्किनु कस्तो हुन्छ
उमङ्ग त लड्या लडै अशक्त पो भएछ 

आँखा वरिपरी अन्धकार बादल घुम्छ 
आशा त दिनानुदिन निसासिंदै गएछ

मक्किएर दापपनि एकदिन त झर्छ 
खियाले त खुकुरीनै  छिया छिया भएछ 

Sunday, July 21, 2013

हो, म हर रात टिल्ल हुनेगरी पिउने गर्छु

हो, म हर रात टिल्ल हुनेगरी पिउने गर्छु
बाँकि रहेको जिन्दगी छिटो छिटो जिउने गर्छु

आँसु नझारी भक्कानिएर धुरु धुरु रुने गर्छु
दु:ख र पीडालाई  रक्सीलेनै धुने गर्छु

उनको माया नपाईकन म त अब जिउन सक्दिन
उनी जसको भए पनि म अरु कसैको हुनै सक्दिन

जीवन जगत संसार अब मेरा लागि हुँदै होइन
एउटै वियोग काफी भयो घाउ भरिने आशै छैन

म देखि मृत्यु डराओस् मलाई कुनै डरै छैन
आज हो कि भोलि अन्त्य मेरो कुनै भरै छैन

हो, म हर रात टिल्ल हुनेगरी पिउने गर्छु
बाँकि रहेको जिन्दगी छिटो छिटो जिउने गर्छु

Saturday, July 13, 2013

भानुभक्त अनि पारिजातहरू




साहित्यको आकाश उदायमान
घाँसीका साथी
निराशाकी रानी
भानुभक्त अनि पारिजात
तिमीहरू मोतिरामहरूका मात्रै होइन
धेरै नेपालीका मुटुमा छौ

जबसम्म बिहानीको उदय हुनेछ
तबसम्म भानुको योगदानको चर्चा हुनेछ
जबसम्म रातको अँध्यारो रहनेछ
तबसम्म पारिजातका शिरिसका फूलहरू फुल्नेछन्

भानु अनि पारिजात
तिमीहरूको सम्झनामा
मैले मात्र होइन्
तिम्रा कृतिका हरेक पाठक पारखीहरूले
तिमीहरूलाई मुटुभरि सँगालेर राखेका छन्
तिमीहरूले राखेका एक एक इटाहरू
आज घर बन्दै गइरहेका छन्

हे आदिकवि अनि
हे पहाडकी छेकुडोल्मा
बुझिराख तिमीहरूको शुरुवातले
धेरैको पाखुरामा उत्साह र प्रेरणाको सुइ लगाइएको छ
तिमीहरूले रोपेको अनि गोडेको वृक्ष
आज धेरैबाट जल पाएर
विकसित भाषाको
जीवन्त साहित्य संसारमा
अक्सिजन फ्याँकिरहेछ

भानुभक्त अनि पारिजातहरू
तिमीहरूप्रति हामीहरू
कृतज्ञ छौं ।
तिमीहरूप्रति हामीहरू
कृतज्ञ छौं ।