Monday, January 4, 2016

मुटुभरी माया भरेर दिएँ, खाली फर्काइदियौ

प्रेमको प्रस्ताब लेखेर दिएँ, गाली फर्काइदियौ
मुटुभरी माया भरेर दिएँ, खाली फर्काइदियौ

साँचो मायाको हुरी, दबाइ बतास बनायौ
माया मनमै साँची, दुबैलाई हतास बनायौ
मायाको मूल खोलेर दिएँ, टाली फर्काइदियौ
मुटुभरी माया भरेर दिएँ, खाली फर्काइदियौ

मनको मीत म हुँदै, अरु नै कोही खोज्यौ
मह चाख्दै नचाखी, पानीको स्वाद रोज्यौ
मायाको जग उठाइ दिएँ, ढाली फर्काइदियौ
मुटुभरी माया भरेर दिएँ, खाली फर्काइदियौ

प्रेमको प्रस्ताब लेखेर दिएँ, गाली फर्काइदियौ
मुटुभरी माया भरेर दिएँ, खाली फर्काइदियौ

न आर भयो न पार भयो, मायामा सधैं छेकबार भयो

न जीत भयो न हार भयो, मायामा सधैं प्रहार भयो
न आर भयो न पार भयो, मायामा सधैं छेकबार भयो

बाचौं कसरी बाचौं, मनभित्र पुरै मरेको छु
मरौं कसरी मरौं, पर्खि बस्ने बाचा गरेको छु
जलेर सब यौवनका दिनहरू, सताउने मुस्लो खार भयो
न आर भयो न पार भयो, मायामा सधैं छेकबार भयो

रात ओढेर सुतेको छु, पर्खंदै सुनौलो घामलाई
आसुँको मलमले पुरेको छु, मुटुको सबै डामलाई
न दुबो न तुलसी, जिन्दगी उखेलिने झार भयो
न आर भयो न पार भयो, मायामा सधैं छेकबार भयो

नदेखिने आकाशसरी भएछु, बादलले सबै छोपेको
फुल्दै नफुल्ने फूल भएछु, धेरै पहिले रोपेको
न सुर भयो न ताल भयो, जीवन बसुरे झन्कार भयो
न आर भयो न पार भयो, मायामा सधैं छेकबार भयो

न जीत भयो न हार भयो, मायामा सधैं प्रहार भयो
न आर भयो न पार भयो, मायामा सधैं छेकबार भयो