Sunday, November 6, 2016

पात्रहरू र पाठशाला

ब्रम्हले बिछ्याएका प्रारब्धका बिस्कुनबाट
फुत्त फुत्त ब्यूँझन्छन् पात्रहरू
अनि छरिन्छन्
संसारी पाठशालामा बहुसंख्य छात्रा छात्रहरू

बन्न बनाउन, आफू चिनाउन
तल्लीन छन् ती अस्तिवका भोकाहरू
बेग्लोपन दर्शाउन, आफूतिर अरूको ध्यानाकर्षण गराउन
ब्यग्र छन् ती खोल्नलाई अवसरका हर ढोकाहरू

जसरी बस्तुका अनेक छन् आकार
त्यसरी नै पात्रहरूका पनि अनेक छन् प्रकार

कोही छन् रापिला घाम, कोही छन् तेज आँधी
कोही छन् साधु, कोही अपराधी

कोही छन् रट्दै बार्हखरी, कोही थाप्दै छन् बिद्यावारदी
कोही छन् सबका मनका खुशी, कोही बनाउछन् सबलाई दुखी

को के बन्छन्, कस्ले के भन्छन्
छैन कसैको लेखाजोखा

कोही आफूलाई बन्धकी राखेर आँफैलाई खोजी हिंड्छन्
कोही अरूलाई थाती राखेर सिर्फ आफूलाई रोज्छन्

खेल्छन् पात्रहरू अाआफ्नो भूमिका

यी खेलमा कोही जित्छन् कोही हार्छन्

जित्नेहरू यही चोलामा मोक्ष हात पार्छन्
भवसागर आफू पनि तर्छन् अरूलाई पनि तार्छन्

हार्नेहरू जित्नु के हो थाहै नपाई जीवन टार्छन
कर्मलाई एउटाबाट अर्को जूनीमा सार्छन्

कोही भने आफू पनि मर्छन अरूलाई पनि मार्छन्

आखिर हरेकले एकदिन
रस सुकेको पात झैं
कि त जल्नु पर्छ, कि त गल्नु पर्छ
अनि बिलाउनु पर्छ शून्यमा

जबसम्म पुरै ठोकिन्नन् कर्मका किलाहरू
तबसम्म सृष्टिको नाँचमा
प्रादुर्भाव भईरहन्छन् पात्रहरू
अनि प्रदर्शनी चलिराख्छ लीलाहरूको
र त
प्रारब्धको इन्धन पिठ्यूँमा बोकेर
संसारी पाठशालामा पसिरहन्छन् पात्रहरू
अनि
जबसम्म आफू मात्र एक पात्र भएको पत्तो पाउँदैनन्
पाठशालामै बसिरहन्छन् पात्रहरू
पाठशालामै फसिरहन्छन् पात्रहरू

जबसम्म आफू मात्र एक पात्र भएको पत्तो पाउँदैनन्
पाठशालामै बसिरहन्छन् पात्रहरू
पाठशालामै फसिरहन्छन् पात्रहरू

Thursday, October 13, 2016

तिमीले स्वदेशमै सपना सजायौ, म त बिदेशमै भासिएछु

तिमीले पग्लिएर भुईँ भिजायौ, म त बाफिएर अकासिएछु
तिमीले स्वदेशमै सपना सजायौ, म त बिदेशमै भासिएछु

काँडा कुल्चेर पाउले, तिमी त पुग्यौ भिर र टाकुरा
आफ्नै माटोमा रमाइ, तिमीले चलायौ हात पाखुरा
तिमीले एउटै भएर भार थेग्यौ, म त दुई टुक्रामा भाँचिएछु
तिमीले स्वदेशमै सपना सजायौ, म त बिदेशमै भासिएछु

तिमी जहाँ उम्रेउ, त्यहींँ फल्यौ र फुलेउ, म त अन्तै गई फेरी पलाएँ
तिमीले कर्मले माटोको रिन तिर्यौ, मैले त उधारोमै जिवन चलाएँ
तिमीले पौरखले छाती फुलायौ, म त प्रयोग बिनै मासिएछु
तिमीले स्वदेशमै सपना सजायौ, म त बिदेशमै भासिएछु

Tuesday, June 14, 2016

तिमी मेरो हुन सकिनौ म कसैको हुन सकिन

भुवा झैँ उडिरहे आकाशलाई छुन सकिन
तिमी मेरो हुन सकिनौ म कसैको हुन सकिन

सँगैहुँदा कयौं पल्ट हाँसखेल पनि गरेकै हो
कतै जाँदा धेरैपल्ट बाटो एउटै परेकै हो
अन्तिम पल्ट बिदा हुँदा आघातले रुन सकिन
तिमी मेरो हुन सकिनौ म कसैको हुन सकिन

आफैभित्र टुक्रिएर फैलदै गएछु
नबग्ने पोखरीझैँ मैलदै गएछु
खोलालेझैँ आफूले आफैलाई धुन सकिन
तिमी मेरो हुन सकिनौ म कसैको हुन सकिन

भुवा झैँ उडिरहे आकाशलाई छुन सकिन
तिमी मेरो हुन सकिनौ म कसैको हुन सकिन

Tuesday, February 16, 2016

मेरो जिन्दगीमा तिमीले भर्छेऊ रङ्ग

This was something I wrote for 2016 Valentine's day.

म चम्कन्छु जब तिमी हुन्छेऊ मसँग
मेरो जिन्दगीमा तिमीले भर्छेऊ रङ्ग

झरी पर्दा तिमी बन्छेऊ मेरो ओत
जर्खरिए जीवन गर्छेऊ खनजोत
तिम्रो स्पर्सले म मा ल्याउँछ तरङ्ग
मेरो जिन्दगीमा तिमीले भर्छेऊ रङ्ग

दुनियाँँले मलाई गरे पनि इन्कार
म जस्तो छु त्यस्तै तिमी गर्छेऊ स्विकार
तिमी छौ र त छ म मा अझै उमङ्ग
मेरो जिन्दगीमा तिमीले भर्छेऊ रङ्ग

म चम्कन्छु जब तिमी हुन्छेऊ मसँग
मेरो जिन्दगीमा तिमीले भर्छेऊ रङ्ग

Watch me sing this song on my youtube channel:



Monday, January 4, 2016

मुटुभरी माया भरेर दिएँ, खाली फर्काइदियौ

प्रेमको प्रस्ताब लेखेर दिएँ, गाली फर्काइदियौ
मुटुभरी माया भरेर दिएँ, खाली फर्काइदियौ

साँचो मायाको हुरी, दबाइ बतास बनायौ
माया मनमै साँची, दुबैलाई हतास बनायौ
मायाको मूल खोलेर दिएँ, टाली फर्काइदियौ
मुटुभरी माया भरेर दिएँ, खाली फर्काइदियौ

मनको मीत म हुँदै, अरु नै कोही खोज्यौ
मह चाख्दै नचाखी, पानीको स्वाद रोज्यौ
मायाको जग उठाइ दिएँ, ढाली फर्काइदियौ
मुटुभरी माया भरेर दिएँ, खाली फर्काइदियौ

प्रेमको प्रस्ताब लेखेर दिएँ, गाली फर्काइदियौ
मुटुभरी माया भरेर दिएँ, खाली फर्काइदियौ

न आर भयो न पार भयो, मायामा सधैं छेकबार भयो

न जीत भयो न हार भयो, मायामा सधैं प्रहार भयो
न आर भयो न पार भयो, मायामा सधैं छेकबार भयो

बाचौं कसरी बाचौं, मनभित्र पुरै मरेको छु
मरौं कसरी मरौं, पर्खि बस्ने बाचा गरेको छु
जलेर सब यौवनका दिनहरू, सताउने मुस्लो खार भयो
न आर भयो न पार भयो, मायामा सधैं छेकबार भयो

रात ओढेर सुतेको छु, पर्खंदै सुनौलो घामलाई
आसुँको मलमले पुरेको छु, मुटुको सबै डामलाई
न दुबो न तुलसी, जिन्दगी उखेलिने झार भयो
न आर भयो न पार भयो, मायामा सधैं छेकबार भयो

नदेखिने आकाशसरी भएछु, बादलले सबै छोपेको
फुल्दै नफुल्ने फूल भएछु, धेरै पहिले रोपेको
न सुर भयो न ताल भयो, जीवन बसुरे झन्कार भयो
न आर भयो न पार भयो, मायामा सधैं छेकबार भयो

न जीत भयो न हार भयो, मायामा सधैं प्रहार भयो
न आर भयो न पार भयो, मायामा सधैं छेकबार भयो