Tuesday, October 2, 2012

हामी र हाम्रो वातावरण

मेरो वरिपरि
घनघोर जंगलबाट आउने
शित्तल हावाहरू
गर्मीका पंखा हुने गर्थे

चराका चिर्चिरसँगै
धर्ती अनि आकाश
खोलाका सुसाइमा
संगीत सिर्जना गर्थे

गहेन्द्र सम्सेरका बन्दुक बोकेका जंगबहादुरहरू
मेरै चारकोसे झाडीहरू अनि
बाँसका झाङहरूमा
वनक्रिडा गर्थे

शान्तिका साधना गर्ने बुद्धहरू
‘ॐ शान्ति शान्ति’ भन्दै
मेरै छहरा अनि पहरा गुञ्जाउँथे
वेदध्वनिहरू संखका धूनमा समाहित भएर
गीता र त्रिपिटक उराल्थे

तर आज
मेरा वागमती र विष्णुमतीहरू
नालीको गन्धले टाइफाईड र जण्डिसका रोगी भएका छन्
मेरा आफन्तहरू
अनेकौं रोगले च्यापेर
मृत्युशैयामा सिकिस्त छन्

वातावरणको विनाशले
मेरा डाँफे नाँच्ने गुँरासे पाखाहरू नाङिएका छन्
हरिया वन अनि केराका घारीहरू
ऐंसेलुका बोट अनि बयरका बुट्यानहरू
फाँडिएर उजाड मरुभूमिझैं भएका छन्
अनि मेरो माटो
बाढी पिडित भएर तप्प तप्प आँसु चुहाइरहेछ

यसरी वातावरण मबाट भाग्न खोजेको छ
मबाट भाग्न खोजेको छ ।

No comments:

Post a Comment