Sunday, November 23, 2014

भोजहरूमा अचेल

कैयौं भोजहरूमा अचेल देखिन्छ
असुरक्षाका भ्रमले आशंकित
मानवीय तरलता
त्यहाँ, हाउभाउमा, कमै भेटिन्छन्
सुखद, सम्मोहक, सर्वश्रेष्ठ सरलता

त्यहाँ भेटिन्छन्
जवानीको जोश खेर फालेर
बुढेसकालमा होश आएका बृद्धहरू
पवित्र हाँसोका उपहार पस्कदै
दौडने भुराहरू
अनि भलाकुसारीसँगै
सुरु हुन्छन् युवा युवतीका कुराहरू

ती भेलामा
जगाइन्छन् भावनाका भल 
बगाइन्छन् स्नेहका जल
ओकलिन्छन् केहि अन्तरङ्ग
उक्लिइन्छन् सौहार्दताका भर्याङ

सँगसँगै
भट्याइन्छन् विचार भीषण
सुनाइन्छन् खेलकुदका पुराण
चढिन्छन् सिद्दान्तका भीर
छेडिन्छन् व्यंग्यका झीर

भोजको अबोध माहोलमा
केही बेचैन आँखाहरू
अरु तेस्तै आँखाहरूसँग चुपचाप ठोक्किन्छन्
मात्र ठोक्किने आँखाहरूले थाहा पाउँछन्

यस्तै यावत कुरा हुने
भोजहरूमा अचेल 
आफ्नो समाजप्रतिको आस्थासँगै
भोजनको प्रचुरता र
भौतिक भोगको पराकाष्ठा पनि देखिन्छन् 

तर अन्त कतै भने
अनिकालमा भयानक भविष्य पर्खानेका
अनि
अनशनरत चेतनशीलका
भरोसा भाँचिन्छन्

कैयौं भोजहरूमा अचेल
जोश र जाँगरका ढिस्का नासिन्छन्
कर्मको घाम देख्न नपाएका असल आकाँक्षाहरू
ताछिएका समयका बोक्रामा टाँसिन्छन्
सँगसँगै
कैयौं मोतिका मन झन् झन् भासिन्छन् ।
कैयौं मोतिका मन झन् झन् भासिन्छन् । ।

No comments:

Post a Comment