Saturday, November 24, 2018

सन्तोष लामिछानेको "अल्टिमेट आकाश" सार्वजनिक

अमेरिका निवासी साहित्यकार सन्तोष लामिछानेको उपन्यास अल्टिमेट आकाशनोभेम्बर १७, २०१८ का दिन म्याडिसन, अमेरिकामा एक समारोहबीच सार्वजनिक गरियो । सो उपन्यास बेलायतस्थित समकालीन साहित्य प्रतिष्ठानले प्रकाशित गरेको हो ।  वरिष्ठ लोक गायक एवम् अवैतनिक नेपाली महावाणिज्य दूत प्रेमराजा महत, कवि गोवर्धन पूजा, साहित्यकार कृष्ण बजगाईंको बिशिष्ट आतिथ्यमा कार्यक्रम अगाडि बढेको थियो ।
फोटोमा बायाँबाट: कृष्ण बजगाईगोवर्धन पूजाबिन्दु तिमिल्सिनासन्तोष लामिछाने 
(अगाडि: आर्या  काव्या लामिछाने)डा. भरतप्रसाद लामिछानेप्रेमराजा महतदिनार रनादी 
उक्त कार्यक्रमका लागि बेलायतबाट आएका कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार कृष्ण बजगाईंले कृतिको समिक्षा गर्दै नेपाली डायास्पोरिक साहित्यमा अल्टिमेट आकाशएउटा कोशे ढुंगाको रुपमा रहने धारणा व्यक्त गर्नु भयो । अमेरिकी भूमिमा युवाले गर्नु परेको संघर्ष र सफलताको कथा रहेको उक्त उपन्यासकाे विषयवस्तु, भाषा शैली रोचक रहेको बताउनु भयो । 

उपन्यासकार लामिछानेका पिता डा. भरत लामिछानेले कृतिका तितामिठा कुरा कोट्याउँदै, कृतिको सकारात्मक पक्ष र चुनौती माथि आफ्नो मनसाय अगाडि पस्किनुभएको थियो ।

अवैतनिक नेपाली महावाणिज्यदूत प्रेमराजा महतले देशबाट टाढा भए पनि देशकै तर्कनामा रहेर नेपाली भाषा र संस्कृति उकास्न र नयाँ पुस्तालाई सिकाउन लागिपरेको नेपाली समुदाय देखेर आफूलाई खुशी लागेको बताए । साहित्यकार गोवद्र्धन पूजाले सिर्जनात्मक लेखनमा निरन्तर अभ्यासको खाँचो औँल्याए ।

उपन्यासकार सन्तोष लामिछानेले अमेरिकी भूमिमा नेपाली युवाका भोगाईलाई उपन्यासको रुप दिएको बताउँदै केही हदसम्म भए पनि यसबाट नेपाली युवा लाभान्वित हुन सक्ने कुरा बताउनु भयो ।

नेपाली अमेरिकन मैत्री संघ (नाफा)को आयोजना गरेको १०९औं महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती एवम् नाफा साहित्यिक साँझ २०७५बिचमा उक्त बिमोचन कार्यक्रम भव्यरुपमा सम्पन्न भएको थियो । प्रतियोगी तथा अप्रतियोगी गरी जम्माजम्मी ३५ वटा कविता वाचन गरिएको यो कार्यक्रममा नाफा अध्यक्ष सन्तोष लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो 

उक्त उपन्यास ‘आमाजोनबाट अनलाईनमा बिक्री भई रहेको कुरा कार्यक्रममा बताइएको थियो । 


#nepalisahitya #nepalinovel #nepaliliterature #ultimateaakash #premrajamahat #sanoshlamichhane

Friday, December 1, 2017

नेपालमा पनि सम्वृद्धि पक्कै आउँछ ।

सधैँ आकाशमा बादल कहाँ छाउँछ ?
नेपालमा पनि सम्वृद्धि पक्कै आउँछ ।

बिकल्प बनेर जब जाग्नेछौँ मोतिका मनहरू
हट्नेछन् तब काला धुवाँ, बाधा र बन्धनहरू
अनि देशमा बिकासको मुहान रसाउँछ
नेपालमा पनि सम्वृद्धि पक्कै आउँछ ।

भनेर मात्र होइन, बनेर कर्मठ आजै र अहिले
देखाउँछौँ जब हामी सबै आ-आफूनै पहिले
अनि सन्तानले आमाको मुहार हसाउँछ
नेपालमा पनि सम्वृद्धि पक्कै आउँछ ।

सधैँ आकाशमा बादल कहाँ छाउँछ ?
नेपालमा पनि सम्वृद्धि पक्कै आउँछ ।

Monday, October 23, 2017

भर्याङ्ग

हजुर म भर्याङ्ग
ह्वांग नै ह्वांग भएको
अरुलाई उकाल्ने
दह्रो भर्याङ्ग

हो मेरो उत्पति हुँदा
मलाई कसैले काठको बनाएथे
माटोको बनाएथे, ढुंगाको बनाएथे

तर आफूलाई उकाल्न अनि उकास्न
कतिले मलाई मान्छेका टाउकाको बनाए
मान्छेका गरिबी अनि मजबुरीको बनाए
निर्दोषी र सरलताको बनाए

माथि उक्लन खोज्नेहरूले
मलाई थरी थरीको बनाए
किसिम किसिमको बनाए
अनि मेरा पुर्जा पुर्जामा टेकेर आफ्नो गन्तब्य पुगे
मेरा अङ्ग अङ्ग  कुल्चेर आफ्ना अभिष्ट पुरा गरे

कैयौंले मलाई माथि उक्लने  बित्तिकै चटक्क बिर्सिदिए
माथि पुग्ने बित्तिकै मलाई चसक्क दुख्नेगरी लडाइ पनि दिए
म कयौं पल्ट भाँचिए पनि

तैपनि मैले धेरैलाई उकालें
धेरैलाई उकासें
तर आफू कहिल्यै उक्लिन
बरु चापले फुक्लिदै गएँ
तर उक्लने मन गरिन

भर्याङ्ग न परे
केवल उकाल्ने अनि उकास्ने मेरो धर्म

हजुर म त भर्याङ्ग
ह्वांग नै ह्वांग भएको
थरी थरीको
किसिम किसिमको स्वरूप भएको
प्राय ठिङ्ग उभिइ मात्र रहने
दुब्लो पातलो अनि कुरुप देखिने
केवल अरुलाई उकास्ने अनि उकाल्ने
सधैं अरुले कुल्चीइमात्र रहने
निरिह भर्यांङ्ग
निरिह भर्यांङ्ग

Tuesday, August 1, 2017

कहिल्यै नढलेको म, आज ढलेछु

कसैको आधार थिएँ, आफूनै लडेछु
कहिल्यै नढलेको म, आज ढलेछु

मलाई नबुझ्नेले मलाई चट्टानझैँ काडा भन्ठान्छन्
तर मभित्र पनि फुलको झैँ कोमल पत्रहरू छन्
ओइलिएर अन्तस्करणमा, अब त धेरै गलेछु
कहिल्यै नढलेको म, आज ढलेछु

पग्लेर आफ्नै आँशुले आफैलाई धोएछु
कहिल्यै नरोएको म, आज रोएछु
बाहिर आँशुले भिझे पनि, भित्र जलेछु
कहिल्यै नढलेको म, आज ढलेछु

कसैको आधार थिएँ, आफैँ लडेछु
कहिल्यै नढलेको म, आज ढलेछु

सानो ठाउँमा हाँसीखुसी बाँच्न मलाई आउँछ |

संसाररुपी समुन्द्रमा मेरो सानो ठाउँ छ |
सानो ठाउँमा हाँसीखुसी बाँच्न मलाई आउँछ |

छुनु छैन चन्द्रमा टेक्नु छैन मङ्गल |
सानै मेरो संसार पनि मलाई ठूलो जङ्गल |
वरिपरी खुसी भए टाढा को धाउँछ ?
सानो ठाउँमा हाँसीखुसी बाँच्न मलाई आउँछ |

पानी पाए सोच्दिन म  खोलो हो कि कुलो |
किन ठूलो सोच्नु पर्यो ? म त ब्रम्हाण्डको धूलो |
जसरी एक पात्र लीलामा निस्फिक्री गाउँछ,
सानो ठाउँमा हाँसीखुसी बाँच्न मलाई आउँछ |

संसाररुपी समुन्द्रमा मेरो सानो ठाउँ छ |
सानो ठाउँमा हाँसीखुसी बाँच्न मलाई आउँछ |

Sunday, November 6, 2016

पात्रहरू र पाठशाला

ब्रम्हले बिछ्याएका प्रारब्धका बिस्कुनबाट
फुत्त फुत्त ब्यूँझन्छन् पात्रहरू
अनि छरिन्छन्
संसारी पाठशालामा बहुसंख्य छात्रा छात्रहरू

बन्न बनाउन, आफू चिनाउन
तल्लीन छन् ती अस्तिवका भोकाहरू
बेग्लोपन दर्शाउन, आफूतिर अरूको ध्यानाकर्षण गराउन
ब्यग्र छन् ती खोल्नलाई अवसरका हर ढोकाहरू

जसरी बस्तुका अनेक छन् आकार
त्यसरी नै पात्रहरूका पनि अनेक छन् प्रकार

कोही छन् रापिला घाम, कोही छन् तेज आँधी
कोही छन् साधु, कोही अपराधी

कोही छन् रट्दै बार्हखरी, कोही थाप्दै छन् बिद्यावारदी
कोही छन् सबका मनका खुशी, कोही बनाउछन् सबलाई दुखी

को के बन्छन्, कस्ले के भन्छन्
छैन कसैको लेखाजोखा

कोही आफूलाई बन्धकी राखेर आँफैलाई खोजी हिंड्छन्
कोही अरूलाई थाती राखेर सिर्फ आफूलाई रोज्छन्

खेल्छन् पात्रहरू अाआफ्नो भूमिका

यी खेलमा कोही जित्छन् कोही हार्छन्

जित्नेहरू यही चोलामा मोक्ष हात पार्छन्
भवसागर आफू पनि तर्छन् अरूलाई पनि तार्छन्

हार्नेहरू जित्नु के हो थाहै नपाई जीवन टार्छन
कर्मलाई एउटाबाट अर्को जूनीमा सार्छन्

कोही भने आफू पनि मर्छन अरूलाई पनि मार्छन्

आखिर हरेकले एकदिन
रस सुकेको पात झैं
कि त जल्नु पर्छ, कि त गल्नु पर्छ
अनि बिलाउनु पर्छ शून्यमा

जबसम्म पुरै ठोकिन्नन् कर्मका किलाहरू
तबसम्म सृष्टिको नाँचमा
प्रादुर्भाव भईरहन्छन् पात्रहरू
अनि प्रदर्शनी चलिराख्छ लीलाहरूको
र त
प्रारब्धको इन्धन पिठ्यूँमा बोकेर
संसारी पाठशालामा पसिरहन्छन् पात्रहरू
अनि
जबसम्म आफू मात्र एक पात्र भएको पत्तो पाउँदैनन्
पाठशालामै बसिरहन्छन् पात्रहरू
पाठशालामै फसिरहन्छन् पात्रहरू

जबसम्म आफू मात्र एक पात्र भएको पत्तो पाउँदैनन्
पाठशालामै बसिरहन्छन् पात्रहरू
पाठशालामै फसिरहन्छन् पात्रहरू

Thursday, October 13, 2016

तिमीले स्वदेशमै सपना सजायौ, म त बिदेशमै भासिएछु

तिमीले पग्लिएर भुईँ भिजायौ, म त बाफिएर अकासिएछु
तिमीले स्वदेशमै सपना सजायौ, म त बिदेशमै भासिएछु

काँडा कुल्चेर पाउले, तिमी त पुग्यौ भिर र टाकुरा
आफ्नै माटोमा रमाइ, तिमीले चलायौ हात पाखुरा
तिमीले एउटै भएर भार थेग्यौ, म त दुई टुक्रामा भाँचिएछु
तिमीले स्वदेशमै सपना सजायौ, म त बिदेशमै भासिएछु

तिमी जहाँ उम्रेउ, त्यहींँ फल्यौ र फुलेउ, म त अन्तै गई फेरी पलाएँ
तिमीले कर्मले माटोको रिन तिर्यौ, मैले त उधारोमै जिवन चलाएँ
तिमीले पौरखले छाती फुलायौ, म त प्रयोग बिनै मासिएछु
तिमीले स्वदेशमै सपना सजायौ, म त बिदेशमै भासिएछु