Saturday, October 17, 2015

निष्पक्ष भएर हेर

मैले क्षणहरु बगाउँदै गर्दा
तिमी मष्तिष्कको चोटाबाट
चिन्तनका चिउरा चपाउँदै
ममाथि चोर औंला ठड्याउने गर्छौ

तिमीभित्रै च्याप्पिएर
उकुस मुकुस भएका सपनामा चोबलेर
तिमी भलाई पश्चाताप पस्कने गर्छौ

मरुमुमिमा निरन्तर हिंडिरहेको
एउटा उँटको थकाइमार्ने धोको जस्तो गरी
कुण्ठा अनि पुर्वाग्रहहरुको पोको खोतलेर
तिमी मलाई खोटको चश्माले हेर्ने गर्छौ

तर हे आफुले आफैलाई निर्णयक सोच्ने तिमी
एकपटक स्वच्छ मन लिएर सोच
तटस्थ भएर निष्कर्ष निकालेर हेर
नियोजित होइन निरपेक्ष भएर फैसला गर

अनि तिम्रा जन्मान्ध ईन्द्रियहरुले क्षणहरु बग्दै गर्दा
सृष्टिका हजारौं रंगहरु देख्नेछन्
निस्लोट तिम्रा संवेदनाहरू
मानवताका दृष्टान्त भएर जाग्नेछन्
तिमीले निर्जीव देखेर इन्कार गरेका सृष्टिका झुप्राहरु
सिर्जनाका उत्पात ठूला इमारत भएर उठ्नेछन्
समयका नालीबेलीहरु पनि
तिम्रो पट्यारका पटक्कै सिकार हुने छैनन्

संगसंगै
क्षणकै छहारीमा तिमी आफै पनि
उत्तरोत्तर उन्मुक्त हुँदै जानेछौ
अनि उन्माद र उत्साहका उदयले
खोटको उत्पक्ति हुनै छाड्ने छ
खोटको उत्पक्ति हुनै छाड्ने छ ।

No comments:

Post a Comment