Saturday, October 17, 2015

भोका अनि मदिराहरू

भोक लाग्दा
कङ्गालहरू
भातको ज्युनारभन्दा
मदिराको मात रुचाउँने गर्छन्

चाहे कलेजो छिया छिया भएर
छताछुल्ल किन नहोस
एकपल्ट विरह विर्सन
आत्मालाई ब्ल्याकमेल गर्दै
भातको सट्टा
भोकाहरू भकभक मदिरा पिउने गर्छन्

मदिराले क्षणिकै भएपनि
भातको तृष्णामात्र होइन
मुटुका गाँठाहरू पनि फुकाइदिने गर्छ
मश्तिष्कमा कृतृम स्वर्ग बसाई
पीडा अनि विवशता लुकाइदिने गर्छ
चहर्याइरहने घाउहरूलाई
तुरुन्त खाटा बसाई सुकाइदिने गर्छ

भोकाहरूका लागि
मदिरा हनुमानको सञ्जीवनी बुट्टी त पक्कै होइन
तर हे साधु सन्तहरू तिमीहरूले बुझिराख
हे आदर्शमा डुबेका अचेत भिखारीहरू तिमीहरूले बुझिराख
अनि हे नैतिकतामा अन्धा ढोंगीहरू तिमीहरू पनि बुझिराख

देवता भनौदाहरूलेसमेत अप्सराहरूका नाँच हेर्दै
सेवन गरेका सोमरस
हाम्रै कल्पना अनि यथार्थका सिर्जना
ती मदिराहरू
मरिसकेपछिका औषधि पनि पक्कै होइनन्
मरिसकेपछिका औषधि पनि पक्कै होइनन्

No comments:

Post a Comment