Monday, December 15, 2014

नेताहरूले ऐतिहासिक अवसरमाथि खेलाँची गर्दै छन्

नेपालमा कैयौं ऐतिहासिक परिवर्तन भए | तिनका लागि कति शहिद भए, कतिले आफ्नो जीवन समर्पण गरे | राणा शासनको अन्त्य, पंचायत कालको अन्त्य, माओबादी आन्दोलन, राजतन्त्रको अन्त्य, मधेश आन्दोलन हुँदै देश अहिले एउटा जटिल मोडमा छ  - पहिलो संबिधान सभाको अवसान भएर दोश्रो संबिधान सभाले एउटा समय सुहाउँदो आधुनिक  संबिधान बनाउने आशामा | संसारका कैयौं देशमा यस्ता संबिधान बनाउने घटनाक्रम आए, कतिमा समयसंगै आइपरे, कतिमा ठुलो रक्तपात र बलिदानले आयो, कतिमा राजनीतिक घटना क्रमले ल्याइपुर्यायो | जे सुकै भएपनि २१औं शताब्दीमा नेपालमा यो अवसर आइपुग्नु आफैमा एउटा सुनौलो मौका हो - एउटा आधुनिक र देश काल परिस्थिति सुहाउँदो, जनता र मानब इतिहासकै एक उत्तम संबिधान, एक कृति लेख्ने |

अमेरिकाको स्वतन्त्रता घोषणामा लेखिएका यी भावका शब्द मानब ईतिहासमै मानब अधिकारको एक कुशल बर्णन सिद्ध भए |

"हामी यी सत्यलाई स्वतः प्रमाणीत मान्छौं कि हर मानिस बराबर हुन् | तिनको सृष्टिकर्ताले तिनीहरूलाई केही अहस्तांतरणीय अधिकार दिएर पठाएका छन्; ती मध्ये केही अधिकार हुन् - बाँच्न पाउने, स्वतन्त्र हुन पाउने र  खुसीको खोजी गर्न पाउने " ।

जुलाई ४, १७७६ मा भएको घोषणाको ११ वर्ष पछि सेप्टेम्बर १७, १७८७ अमेरिकाको संबिधान बन्यो | त्यो संबिधान बनेपछि त्यसमा धेरै सुधार र संशोधन भएका छन् | तर जुन भावनाले अमेरिकाको स्वतन्त्रताको घोषणा भयो त्यही जोश र भावनाले, सबैको अन्तरक्रियामा आफ्नो देशलाई सुहाउँदो संबिधान पनि अमेरिकामा बन्यो र पछि समयसंगै सुधार र संसोधन पनि हुँदै गयो | २२० बर्ष अघि लेखिएको अमेरिकाको संबिधानमा पनि सब कुरा पूर्ण थिएन तर समय अनुसारको मान्यता र आफ्नो देश काल परिस्थिति अनुसार एउटा असल भावानाले संबिधान लेखियो | नेपालमा अहिले रहेको सुनौलो अवसरलाई पनि त्यस्तै भावना र गम्भीरताका भएर उपयोग गर्नु पर्छ |

दासत्व, छुवाछुत जस्ता कुरा उन्मुलन भएपनि अहिले समयको आवस्यकता फेरिएको छ | व्यक्तिको स्वतन्त्रता, शासकीय स्वरुपसंगै अहिले आर्थिक असमानता, समावेशीता, लैगिक असमानता, समलिंगीका अधिकार, पशुका अधिकार, वातावरणको संरक्षण जस्ता कुरामा एक आधुनिक र समय सापेक्ष संबिधान चाहिएको छ | मेरो कुरो चुरो संबिधानमा कुन कुरा कसरी लेखिनु पर्छ भन्दा पनि यो अवसरलाई इमान्दारी र गम्भीरतापुर्वक आत्मसाथ गरिदै छैन भन्नेमा हो |

हो, लेख्न, भन्न सजिलो हुन्छ | असलमा सबको सहमति जुटाउदै कुनै काम फत्ते गर्न गार्हो छ | तर यहाँ प्रयास र इरादा पनि देखिएन | नेताहरू र राजनीतिक पार्टीहरूको चर्तिकला हेर्दा त सब आफ्ना आफ्ना स्वार्थ र अहममा एउटा सुवर्ण मौकालाई कालो छायामा पारिएको अनुभव हुन्छ | हुँदा हुँदा अब त संविधानका अन्तरबस्तु र प्रावधानको भन्दा सत्ता साझेदारी, शक्ति, र कुर्सीमा अड्केर संबिधान बनाउने काम पिल्सिएको कुरा घाम झैँ छर्लंग हुँदै छ | एउटा संबिधान सभाको हत्या भयो | जनताको रगत पसिनाले तिरेको करले जम्मा भएको अरबौ रुपियाँ पारिश्रमिक स्वरुप सभासदले पचाए | अर्को संबिधान सभाको पनि के तेस्तै हविगत हुने हो ?

होलान् केही इमान्दार सभासदले जो साँच्चै संबिधान बनाउन चाहन्छन्, तर ठूला ठूला टाउके नेताहरू रिसोर्ट र होटेलका बार्तामा ब्यस्त छन् | तर केहि नतिजा आउदैन | मात्र जनताका खल्ती खाली हुँदै छन्, मात्र नेताले भत्ता र सत्ता पाएका छन्, नपाउने त्यसकै पछि लागेका छन् | यदि सबको इरादा एउटा असल संबिधान दिने हो भने, सबको स्वार्थ देश र जनताको पक्षमा हो भने एउटा समान र सामुहिक निचोड त आउथ्यो नै | तर किन यति ठूलो ऐतिहासिक अवसरमाथि खेलाँची गरिदै छ?

२०४७मा पनि संबिधान बनेको थियो | हो त्यो संबिधान समयको माग संगै अब पुरानो भयो होला तर त्यतिबेलाको शक्तिको संतुलन र आवस्यकता अनुसार विज्ञहरूको समन्वयेम एउटा यथोचित संबिधान गम्भिर्यका साथ बनाइएको थियो | अहिले पनि सब बिज्ञहरू, राजनीतक शक्ति, नागरिक समाज र जनताको व्यापक संलग्नतामा जिम्बेवार ठाउँमा रहेका व्यक्तिहरूले एउटा आधुनिक र देश सुहाउँदो, कालजयी, उदहारणीय संबिधान बनाउन गम्भीर हुन आवस्यक छ | संबिधान सभामा भाग नलिएकाले पनि आफ्ना प्रतिक्रिया दिएर प्रक्रियामा आउनु पर्छ, सबका कुरालाई सुन्नु पर्छ र देश र जनताको पक्षमा संसारकै लागि एउटा उत्तम कृति दिने लक्ष राख्नु पर्छ | समय सक्कदै जाँदा अन्त्यमा आलटाल गर्ने अनि झारा टार्ने खालको संबिधान दिने कायदाले अहिलेका नेताहरूलाई इतिहासले कुरा मात्र ठूला गर्ने तर काम नगर्ने पाखण्डीको उपमा दिने निश्चित छ |

No comments:

Post a Comment