Saturday, October 17, 2015

निष्पक्ष भएर हेर

मैले क्षणहरु बगाउँदै गर्दा
तिमी मष्तिष्कको चोटाबाट
चिन्तनका चिउरा चपाउँदै
ममाथि चोर औंला ठड्याउने गर्छौ

तिमीभित्रै च्याप्पिएर
उकुस मुकुस भएका सपनामा चोबलेर
तिमी भलाई पश्चाताप पस्कने गर्छौ

मरुमुमिमा निरन्तर हिंडिरहेको
एउटा उँटको थकाइमार्ने धोको जस्तो गरी
कुण्ठा अनि पुर्वाग्रहहरुको पोको खोतलेर
तिमी मलाई खोटको चश्माले हेर्ने गर्छौ

तर हे आफुले आफैलाई निर्णयक सोच्ने तिमी
एकपटक स्वच्छ मन लिएर सोच
तटस्थ भएर निष्कर्ष निकालेर हेर
नियोजित होइन निरपेक्ष भएर फैसला गर

अनि तिम्रा जन्मान्ध ईन्द्रियहरुले क्षणहरु बग्दै गर्दा
सृष्टिका हजारौं रंगहरु देख्नेछन्
निस्लोट तिम्रा संवेदनाहरू
मानवताका दृष्टान्त भएर जाग्नेछन्
तिमीले निर्जीव देखेर इन्कार गरेका सृष्टिका झुप्राहरु
सिर्जनाका उत्पात ठूला इमारत भएर उठ्नेछन्
समयका नालीबेलीहरु पनि
तिम्रो पट्यारका पटक्कै सिकार हुने छैनन्

संगसंगै
क्षणकै छहारीमा तिमी आफै पनि
उत्तरोत्तर उन्मुक्त हुँदै जानेछौ
अनि उन्माद र उत्साहका उदयले
खोटको उत्पक्ति हुनै छाड्ने छ
खोटको उत्पक्ति हुनै छाड्ने छ ।

भोका अनि मदिराहरू

भोक लाग्दा
कङ्गालहरू
भातको ज्युनारभन्दा
मदिराको मात रुचाउँने गर्छन्

चाहे कलेजो छिया छिया भएर
छताछुल्ल किन नहोस
एकपल्ट विरह विर्सन
आत्मालाई ब्ल्याकमेल गर्दै
भातको सट्टा
भोकाहरू भकभक मदिरा पिउने गर्छन्

मदिराले क्षणिकै भएपनि
भातको तृष्णामात्र होइन
मुटुका गाँठाहरू पनि फुकाइदिने गर्छ
मश्तिष्कमा कृतृम स्वर्ग बसाई
पीडा अनि विवशता लुकाइदिने गर्छ
चहर्याइरहने घाउहरूलाई
तुरुन्त खाटा बसाई सुकाइदिने गर्छ

भोकाहरूका लागि
मदिरा हनुमानको सञ्जीवनी बुट्टी त पक्कै होइन
तर हे साधु सन्तहरू तिमीहरूले बुझिराख
हे आदर्शमा डुबेका अचेत भिखारीहरू तिमीहरूले बुझिराख
अनि हे नैतिकतामा अन्धा ढोंगीहरू तिमीहरू पनि बुझिराख

देवता भनौदाहरूलेसमेत अप्सराहरूका नाँच हेर्दै
सेवन गरेका सोमरस
हाम्रै कल्पना अनि यथार्थका सिर्जना
ती मदिराहरू
मरिसकेपछिका औषधि पनि पक्कै होइनन्
मरिसकेपछिका औषधि पनि पक्कै होइनन्

जब डुब्छु कल्पनामा

केही दिन अघि ( डिसेम्बर ४) स्वर सम्राट नारायण गोपाल यस लोकबाट बिदा भएको २३ बर्ष पुगेको थियो | वहाँका गीतहरू मलाई सार्है मन छुने लाग्छन् | तिनमा स्वर र संगीत मात्र राम्रो नभएर शब्द पनि गहिरा र वजनदार हुने गर्छन् | वहाँको सम्झना गर्दा आज एउटा गीत लेख्ने मन लाग्यो | एउटा सानो प्रयास तल पेश गरेको छु |

जब डुब्छु कल्पनामा

यथार्थलाई थाती राखी जब डुब्छु कल्पनामा
तिमी र म प्रेम गर्छौं देखे जस्तै सपनामा  

त्यतिबेला भावनाले निखार्दिन्छन् मनका भय
अनि तिम्रो सम्झना बन्छ तनको मधुर लय

प्रतिबन्धहरूबीच बिपनामा म एक कैदी सही
कल्पनामा सम्बन्ध गाँस्न मलाई छैन मनाही

भन्नेहरुले भनिरहुन् है तिमीलाई म पाउन सक्दिन
तर्कनाको बाटोगरी तिम्रो आलिङ्गनमा म आउन रोक्दिन

फलाक्नेले फलाकुन है म हारको दृष्टान्त भनेर
मेरो चित्तमा हर हार जल्छन् जीतका राप बनेर

यथार्थलाई थाती राखी जब डुब्छु कल्पनामा
तिमी र म प्रेम गर्छौं देखे जस्तै सपनामा   ||

Saturday, September 26, 2015

"चामल खानेहरू र चौलानी पिउनेहरू" प्रकाशित र विमोचित / 'Porridge Eaters and Gruel Drinkers' Published

२६ सेप्टेम्बर, २०१५ नेपाल अमेरिकन मैत्री सङ्घ, म्याडिसन, विस्कनसिनले हरेक बर्ष गर्ने "विजय मल्ल साहित्य साँझ" कार्यक्रममा यस बर्ष कविता प्रतियोगितासँगै सन्तोष लामिछानेद्वारा लिखित 'चामल खानेहरू र चौलानी पिउनेहरू' / Porridge Eaters and Gruel Drinkers को बिमोचन पनि भएको छ | कविता संग्रह 'जनमत प्रकाशन' काभ्रे, नेपालबाट प्रकाशित भएको हो | संग्रहमा बरिष्ठ साहित्यकार रामप्रसाद ज्ञवालीको भूमिका तथा समालोचना पनि समेटिएको छ |

कविकी आमा भवानी लामिछाने र लोक गायक हिरण्य भोजपुरेले संयुक्त रुपमा उक्त कृतिको बिमोचन गर्नुभएको थियो | कार्यक्रमको अध्क्ष्यता मैत्री सङ्घक अध्यक्ष्य पूर्ण श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रममा साहित्यकर दिनार रनादीले लेखकको परिचय दिनु भएको थियो | त्यसैगरी साहित्यकार राजेन्द्र अर्यालले 'चामल खानेहरू र चौलानी पिउनेहरू' को समिक्षा गर्नु भएको थियो | कार्यक्रमको संयोजन तथा संचालन आविस्कार भारतीले र बाल कविता प्रतियोगिताको संचालन चाहिं इशान लुइंटेलले गर्नु भएको थियो |

कार्यक्रममा हिरण्य भोजपुरेसंगै उहाँको सहकर्मी तथा जीवन संगिनी उर्मिला श्रेष्ठको लोक गीत पनि समावेस थियो | कार्यक्रममा बालकविता प्रतियोगिता र नियमित कविता प्रतियोगितामा राम्रा राम्रा कविता बाचन गरिएको थियो | थुप्रै अप्रतियोगी कविता पनि कार्यक्रममा समाबेश थिए |

कविता संग्रहमा केही कविता अंग्रेजीमा पनि अनुवादित छन् | सो संग्रहलाइ "Porridge Eaters and Gruel Drinkers" शिर्षकमा Amazon.com भन्ने अनलाइन बिक्रेताको वेभपेजमा पनि उपलब्ध गराइएको छ |   
देब्रेबाट दिनार श्रेष्ठ, राजेन्द्र अर्याल, सन्तोष लामिछाने, भवानी लामिछाने, हिरण्य भोजपुरे  र पूर्ण श्रेष्ठ
कार्यक्रममा बोल्ने क्रममा लेखकले नेपालीले लेखेका कुरा सबैले बुझ्न र पहुँच पाउन सकुन् भनेर केही कविता अंग्रेजीमा अनुवाद गरेको बताए | साथसाथै हामी सबैले नेपाली कविता, साहित्य पढ्ने लेख्ने गरेर हाम्रो भाषा, भावना र संस्कृतिलाइ जोगाइराख्नु पर्ने पनि बताए | आफु कुनै नाम चलेको व्यक्ति नभएपनि आफुले कविता संग्रहमा नयाँ कुरा पस्कन खोजेको र पत्रकार तथा सबै उपस्थित महानुभावहरूलाइ नयाँ व्यक्तिलाई पनि मौका दिन र नेपाली साहित्यको माया, चर्चा र जगेर्ना गर्न आव्हान गरे |

कार्यक्रमको अन्त्यमा नेपाली सेलरोटी र अन्य परिकारहरू सहितको खाना खाईएको थियो |

Wednesday, September 23, 2015

Porridge Eaters and Gruel Drinkers Published / चामल खानेहरू र चौलानी पिउनेहरू प्रकाशित

I am pleased to announce that my Nepali poetry collection Porridge Eaters and Gruel Drinkers / चामल खानेहरू र चौलानी पिउनेहरू got published through Janamat Prakashan, Kavre, Nepal. It is now available on Amazon.com as well.
Get a Copy Today
I am glad that I now have a book under the list : Books written by Nepali authors. :)

Friday, August 21, 2015

Flowers / फूलहरू

Flowers फूलहरू
Is it their fault हरेक फूल
flowers want to bloom आफ्नै तरिकाले फक्रिन खोज्छन्
their own way?

तिनको के भूल छ ?

Even if they err, भूलनै भएपनि
they will reform प्रकृतीको खेलसँगै
with nature's play.

भूल सप्रने छन्

Not letting flowers फूलहरूलाई
bloom their own way, आफ्नै तरिकाले फुल्न नदिने
where in nature प्रकृतीमा कहाँ तेस्तो
is such a display?

निर्दयी उसूल छ ?

Flowers grow हरेक फूलको
from their own fountain. आफ्नै मूल हुन्छ
If forced to be uniform, फूलहरूलाई एकैनास बनाउन खोजे त
variation will dissolve in unison; विविधता आफैमा घुल्छ
beauty will see its ruin. सौन्दर्य लुथ्रुक्क झुल्छ
Where will bees then roam?

अनि माहुरी कहाँ डुल्छ ?

Flowers have their own DNA, फूलहरूको आफ्नै डि.एन.ए हुन्छ
compelling flowers to bloom a certain way एकै तरिकाले मात्र फुल्न बाध्य पार्ने व्यहोराले त
is letting in vile passion ह्वाङ्ग खुल्ला ढोकाबाट
through a gaping doorway. पापी पक्षपात हुल्छ

Saturday, August 8, 2015

कुर्दा कुर्दा काँडा पनि फुल्न पुगेछु

पहिलो भेटमै उनीसँग खुल्न पुगेछु
थाहै नपाई उनलाई मनमा हुल्न पुगेछु

सपना कि बिपना हो होश गुमाएर
मात्र उनकै वरिपरि डुल्न पुगेछु

उनी भईन् पराई अनि गईन् धेरै टाढा
अझै पनि उनकै यादमा झुल्न पुगेछु

दिन हप्ता महिना बर्ष दशक बिते पनि
सम्झी सम्झी आफूलाईनै भुल्न पुगेछु

उनी एक गुलाब थिईन् म एक काँडा
कुर्दा कुर्दा काँडा पनि फुल्न पुगेछु