Saturday, December 27, 2014

सत्यहरू

साना ठूला
अग्ला होचा
सतही गहिरा
पुराना नयाँ
अस्वीकृत स्वीकृत
"सत्य" हरू धेरै छन्

कति सत्यहरू
भीडमा किचिएर जान्छन्
कति सत्यहरू
फक्रन नपाउँदै
चुँडिएर जान्छन्

कति फन्दामा फस्छन्
कति नखुल्ने पोकाभित्र पस्छन्
कति विचारमै मात्र बस्छन्
कति खुम्चिदै खस्छन्

कति सत्यहरू
सम्पन्न अनि शक्तिशालीको भोजमा
खानासँगै चपाइदै जान्छन्
प्रायोजित सत्यहरू भने
बारम्बार दोहोर्याइदै अनि छपाइदै जान्छन्
कति अन्धाधुन्द जपाइदै जान्छन्
कति धकेली धकेली धपाइदै जान्छन्

तर शाश्वत सत्यहरू सधैं स्थिर छन्
तिनको स्वर
तिनको शक्ति
तिनको सामर्थ्य
स्वतः सिद्ध छ

सदा सादा
स्वच्छ अनि साझा
स्वाङ अनि स्वार्थ रहित    
शाश्वत सत्यहरू
थाहा पाउन खोजे
पहिल्याउन सके
स्पष्ट अनि सर्बश्रेष्ठ छन्

म हर जुनीमा तिमीलाईनै चुन्छु

तिमीसँग बाँच्न पाईन, अब म जीवनभरी एक्लो हुन्छु
तिमीसँग हाँस्न पाईन, अब म जीवनभरी हरदिन रुन्छु

आँखा खुलेर के भो ? मनले हेर्न नचाहने अन्धो भएको छु
आँखा वारिपरिका हरचिज आजकल आँशुले धुन्छु

झर्न खोजिरहेको एउटा रुखको सुकेको हाँगा भएको छु
किन यस्तो सजाएँ मलाई भन्दै सासलाई सासैले थुन्छु

बेहोश, अचेत अनि अचल एउटा लाशझैं भएको छु
तैपनि ब्यूँझन्छु बेलाबेला, जोड जोड आफ्नो ढुकढुकी सुन्छु

टुट्ने छु, फुट्ने छु, गन्तब्यहीन भएर सधैं भौतारिनेछु
मिलन नभएर के भो? म त हर जुनीमा तिमीलाईनै चुन्छु

Wednesday, December 24, 2014

नजिक आउँदा तिमी अलौकिक आभा छरेर जान्छेऊ

नजिक आउँदा तिमी अलौकिक आभा छरेर जान्छेऊ
आँखाका आश्रममा हुँदा सुमधुर सम्झना भरेर जान्छेऊ

अर्चानीय एक देवीको आभास दिलाएर जान्छेऊ
मुस्कानको झरना माछालाईझैँ पिलाएर जान्छेऊ

कोमल नयनका कान्तिले उज्यालो बनाएर जान्छेऊ
आकर्षणको करेन्टले पुरै शरीर झन्झनाएर जान्छेऊ

मीठा बातले मेरो ब्रम्हाण्डमा रहरहरू जगाएर जान्छेऊ
आत्मियता अवतरण गराई दुविधाहरू बगाएर जान्छेऊ

छुट्टिने बेलामा फर्केर एकपल्ट पुलुक्क हेरेर जान्छेऊ
मेरो मुटुलाई पनि आफूसँगै आँचलमा बेरेर लान्छेऊ

नजिक आउँदा तिमी अलौकिक आभा छरेर जान्छेऊ
आँखाका आश्रममा हुँदा सुमधुर सम्झना भरेर जान्छेऊ

Saturday, December 20, 2014

जिन्दगीले जिन्दगीलाई सधैं माया गरिरन्छ

मन भित्र कल्पनाले मीठा कुरा गरिरन्छ 
यथार्थमा आँखाबाट तप् तप् आँशु झरिरन्छ 

मुटुलाई के थाहा ऊ त सपना छरिरन्छ  
छरिएको सपना भने नउम्रदै मरिरन्छ  

एउटा सुख नसक्किदै अर्को दु:ख परिरन्छ
सोचे जस्तो सुन्दर संसार समयसँगै सरिरन्छ

जे भएनी भावनाले उमंगचैं  भरिरन्छ
रङ्गहरूको बगैचामा जिन्दगानी चरिरन्छ

आक्कल झुक्कल देखा पर्ने दुर्घटना टरिरन्छ
साहसका पुलहरूले अप्ठ्यारा पल तरिरन्छ

निराशालाई आशाहरूले एक एक गर्दै हरिरन्छ 
जिन्दगीले जिन्दगीलाई सधैं माया गरिरन्छ

Monday, December 15, 2014

नेताहरूले ऐतिहासिक अवसरमाथि खेलाँची गर्दै छन्

नेपालमा कैयौं ऐतिहासिक परिवर्तन भए | तिनका लागि कति शहिद भए, कतिले आफ्नो जीवन समर्पण गरे | राणा शासनको अन्त्य, पंचायत कालको अन्त्य, माओबादी आन्दोलन, राजतन्त्रको अन्त्य, मधेश आन्दोलन हुँदै देश अहिले एउटा जटिल मोडमा छ  - पहिलो संबिधान सभाको अवसान भएर दोश्रो संबिधान सभाले एउटा समय सुहाउँदो आधुनिक  संबिधान बनाउने आशामा | संसारका कैयौं देशमा यस्ता संबिधान बनाउने घटनाक्रम आए, कतिमा समयसंगै आइपरे, कतिमा ठुलो रक्तपात र बलिदानले आयो, कतिमा राजनीतिक घटना क्रमले ल्याइपुर्यायो | जे सुकै भएपनि २१औं शताब्दीमा नेपालमा यो अवसर आइपुग्नु आफैमा एउटा सुनौलो मौका हो - एउटा आधुनिक र देश काल परिस्थिति सुहाउँदो, जनता र मानब इतिहासकै एक उत्तम संबिधान, एक कृति लेख्ने |

अमेरिकाको स्वतन्त्रता घोषणामा लेखिएका यी भावका शब्द मानब ईतिहासमै मानब अधिकारको एक कुशल बर्णन सिद्ध भए |

"हामी यी सत्यलाई स्वतः प्रमाणीत मान्छौं कि हर मानिस बराबर हुन् | तिनको सृष्टिकर्ताले तिनीहरूलाई केही अहस्तांतरणीय अधिकार दिएर पठाएका छन्; ती मध्ये केही अधिकार हुन् - बाँच्न पाउने, स्वतन्त्र हुन पाउने र  खुसीको खोजी गर्न पाउने " ।

जुलाई ४, १७७६ मा भएको घोषणाको ११ वर्ष पछि सेप्टेम्बर १७, १७८७ अमेरिकाको संबिधान बन्यो | त्यो संबिधान बनेपछि त्यसमा धेरै सुधार र संशोधन भएका छन् | तर जुन भावनाले अमेरिकाको स्वतन्त्रताको घोषणा भयो त्यही जोश र भावनाले, सबैको अन्तरक्रियामा आफ्नो देशलाई सुहाउँदो संबिधान पनि अमेरिकामा बन्यो र पछि समयसंगै सुधार र संसोधन पनि हुँदै गयो | २२० बर्ष अघि लेखिएको अमेरिकाको संबिधानमा पनि सब कुरा पूर्ण थिएन तर समय अनुसारको मान्यता र आफ्नो देश काल परिस्थिति अनुसार एउटा असल भावानाले संबिधान लेखियो | नेपालमा अहिले रहेको सुनौलो अवसरलाई पनि त्यस्तै भावना र गम्भीरताका भएर उपयोग गर्नु पर्छ |

दासत्व, छुवाछुत जस्ता कुरा उन्मुलन भएपनि अहिले समयको आवस्यकता फेरिएको छ | व्यक्तिको स्वतन्त्रता, शासकीय स्वरुपसंगै अहिले आर्थिक असमानता, समावेशीता, लैगिक असमानता, समलिंगीका अधिकार, पशुका अधिकार, वातावरणको संरक्षण जस्ता कुरामा एक आधुनिक र समय सापेक्ष संबिधान चाहिएको छ | मेरो कुरो चुरो संबिधानमा कुन कुरा कसरी लेखिनु पर्छ भन्दा पनि यो अवसरलाई इमान्दारी र गम्भीरतापुर्वक आत्मसाथ गरिदै छैन भन्नेमा हो |

हो, लेख्न, भन्न सजिलो हुन्छ | असलमा सबको सहमति जुटाउदै कुनै काम फत्ते गर्न गार्हो छ | तर यहाँ प्रयास र इरादा पनि देखिएन | नेताहरू र राजनीतिक पार्टीहरूको चर्तिकला हेर्दा त सब आफ्ना आफ्ना स्वार्थ र अहममा एउटा सुवर्ण मौकालाई कालो छायामा पारिएको अनुभव हुन्छ | हुँदा हुँदा अब त संविधानका अन्तरबस्तु र प्रावधानको भन्दा सत्ता साझेदारी, शक्ति, र कुर्सीमा अड्केर संबिधान बनाउने काम पिल्सिएको कुरा घाम झैँ छर्लंग हुँदै छ | एउटा संबिधान सभाको हत्या भयो | जनताको रगत पसिनाले तिरेको करले जम्मा भएको अरबौ रुपियाँ पारिश्रमिक स्वरुप सभासदले पचाए | अर्को संबिधान सभाको पनि के तेस्तै हविगत हुने हो ?

होलान् केही इमान्दार सभासदले जो साँच्चै संबिधान बनाउन चाहन्छन्, तर ठूला ठूला टाउके नेताहरू रिसोर्ट र होटेलका बार्तामा ब्यस्त छन् | तर केहि नतिजा आउदैन | मात्र जनताका खल्ती खाली हुँदै छन्, मात्र नेताले भत्ता र सत्ता पाएका छन्, नपाउने त्यसकै पछि लागेका छन् | यदि सबको इरादा एउटा असल संबिधान दिने हो भने, सबको स्वार्थ देश र जनताको पक्षमा हो भने एउटा समान र सामुहिक निचोड त आउथ्यो नै | तर किन यति ठूलो ऐतिहासिक अवसरमाथि खेलाँची गरिदै छ?

२०४७मा पनि संबिधान बनेको थियो | हो त्यो संबिधान समयको माग संगै अब पुरानो भयो होला तर त्यतिबेलाको शक्तिको संतुलन र आवस्यकता अनुसार विज्ञहरूको समन्वयेम एउटा यथोचित संबिधान गम्भिर्यका साथ बनाइएको थियो | अहिले पनि सब बिज्ञहरू, राजनीतक शक्ति, नागरिक समाज र जनताको व्यापक संलग्नतामा जिम्बेवार ठाउँमा रहेका व्यक्तिहरूले एउटा आधुनिक र देश सुहाउँदो, कालजयी, उदहारणीय संबिधान बनाउन गम्भीर हुन आवस्यक छ | संबिधान सभामा भाग नलिएकाले पनि आफ्ना प्रतिक्रिया दिएर प्रक्रियामा आउनु पर्छ, सबका कुरालाई सुन्नु पर्छ र देश र जनताको पक्षमा संसारकै लागि एउटा उत्तम कृति दिने लक्ष राख्नु पर्छ | समय सक्कदै जाँदा अन्त्यमा आलटाल गर्ने अनि झारा टार्ने खालको संबिधान दिने कायदाले अहिलेका नेताहरूलाई इतिहासले कुरा मात्र ठूला गर्ने तर काम नगर्ने पाखण्डीको उपमा दिने निश्चित छ |

Monday, December 1, 2014

उनलाई भात पकाउन आउँदैन रे

From a diary of a guest: Below, I am presenting you an excerpt from a diary of Achyut Timilsina, my brother-in-law. Very nicely written. Thank you for sharing!                                          
उनलाई भात पकाउन आउँदैन रे !
अच्युत तिमिल्सिना
मिती:  १० चैत्र २०६०
 अमेरिका

बिरानो ठाउँ, एक्लोपन, पढाई, अनि सेमेस्टेर  फीसको चर्करो, यी सबैसंग म सकि-नसकी  जुधिरहेको थिए।  घरबाट टाढा हुनुको पीडा र अमेरिकामा बिधार्थी जीवनको यो एउटा पाटो मेरा लागि नयाँ थियो। खाँचो थियो एउटा साथीको , एउटा पात्रको जसलाई म आफ्नो कुरा सुनाउन सकूँ, ब्यक्त गर्न सकूँ। बेलाबखत समय मिल्दा म उनलाई फोन गर्थे।  अनि एक-अर्काको वार्तालापले मलमको काम गर्थ्यो।  टाढा भएपनि एक प्रकारको समिप्यता बनिरहेको थियो। पछि पछि लगभग दिनैपिच्छे उनीसित  कुरा हुन्थ्यो।कहिलेकाही उनको व्यस्तताले फोन मिस भएमा टाढिएको अनुभूती मलाई हुन्थ्यो ।  एकले अर्कालाई अर्ति, आड भरोसा दिने त कहिले एक अर्काको कुरालाई उडाइदिने। कुराको क्रम: यसरी नै चलिरहेको थियो।

तर आज म उनको एउटा कुरा सुनेर बेस्सरी हाँसेँ , " उनलाई भात पकाउन आउँदैन रे "।  साँची त्यस्तो कुरा गर्ने मान्छे, त्येतिका कुरा बुझेकी  मान्छे , गाउँघरको परिवेशमा हुर्केकी मान्छे, रोपाई र बर्षाको कुरा गर्ने मान्छे -म एकछीन चकित परे उनको कुरा सुनेर। अनि आश्चर्य मान्दै सोधे, "के तिमीलाई साँच्ची भात पकाउन आउँदैन?" मैले यसरी  प्रश्न गर्दा उनी पनि रनभुल्लमा परिन् अनि अतालिदै भनिन, " खै के  भन्ने मलाई  कूकरमा पानी अडकल्न आएन "।  कूकर भन्ने बितिकै मलाई झन् जिज्ञाशु बन्न मन लाग्यो र सोधे , " अरुमा आउँछ तेसो भए ?"  उनले हाँसेर जवाफ दिइन् , " आउनु पर्ने हो।" अनि उनलाई भने  "एउटा राइस कूकर किन सजिलो हुन्छ  भात पकाउन।"  नेपाली मनलाई भात जहाँ गए नि प्यारो लाग्छ। भातको कुरा सानै भए नि बिषय चाँही ठुलो छ नेपाल र नेपालीको सन्दर्भमा।

खयर यो त  केही भएन घरकी कान्छी छोरी , काम पनि त्यति लगाएनन् होला। मैले सजिलै अनुमान गरे।  नेपाली समाज र नेपाली परिवेश घरभित्र छोरीहरुलाई  धेरै जिम्बेबार र उत्तरदायी हुन सिकाउँछ । २१औं शताब्दीका मानिसहरु र कथित फेमिनिस्टहरू यसलाई असमानताको दृष्‍टिले हेर्छन् होला। मैले पनि यहाँ कुनै लैंगिक पक्षपात (Gender Bias) गर्न खोजेको होइन तर पनि हामी र हाम्रो समाज समय अनुसार  चल्न कहाँ सकेको छ र? आज पनि कति छोरी चेलीहरुको दिनचर्या मेलपात र घासँपातमा नै बित्छ। यिनै असमानता र सामाजिक संरचना परिवर्तनकालागि देशमा कमरेडहरु लडीरहेका छन्। दसकौं देखीजारी यस लडाईंको एक दिन मुल्याङ्कन त अबश्य होला। तर पनि पूर्ण परिवर्तनको लागि खाँचो छ शिक्षा अनि रोजगारीको।

उनलाई भात पकाउन आउँदैन रे! हुनत यो कुरा सानै हो तर पनि मेरो मस्तिस्कमा एउटा ठुलै  छाल ल्यायो किनकी म उनीसित जैले पनि ठुलै कुरा गर्थे। जब उनले भनिन् " मैले भात पकाएको काहानी नै भयो," मैले सोचें परिबेशले सिकाएन त के भो, समय र परिस्थितीले सिकाउछ । छोरी भएर घरको काम काजमा दक्ष हुनै पर्छ, यो मेरो मान्यता होइन। मैले छोरा भएर पनि के नै गर्न सकेको छु र तर पनि आफ्नो परिबेश, समाज, त्यहाँको मुल्य र मान्यताले मेरो मानसपटलमा पनि केही जरो गाडेको रहेछ जुन मलाई पनि  थाहा थिएन । शायद  त्यसैले गान्धीले भनेका छन्," परिवर्तन चाहन्छौ भने आँफै बाट सुरु गर"।

एवम्  अश्तु!!
Achyut at Madison's Farmer's Market

Saturday, November 29, 2014

तिमी पनि एकतर्फी माया गरेर हेर

I always wanted to write songs, sing songs, learn guitar, and be a singer. Well, I have written songs, but no one has sung them yet. I learned guitar by being in company of friends who were very good guitarists and composers. I own an acoustic guitar that gets little of my attention. In fact, one of its strings is so rusted that it needs to be changed. However, I have not had time to take care of it.

Yesterday while I was writing a song, I thought of singing it, and trying my little knowledge of guitar playing. I debated whether I should share it or not but I thought I may regret not sharing than sharing it. Here it is for you. :)

Timipani Ektarfi Maya Garera Hera / तिमी पनि एकतर्फी माया गरेर हेर

तिमी पनि एकतर्फी माया गरेर हेर
मुटुभरी तीता तिरस्कार भरेर हेर

तनमनमा अतृप्त चाहना च्यापेर हेर
छातीभरी सबैतिर तृष्णा छ्यापेर हेर

निधारमा सधैंलाई असफलता छापेर हेर
हरदिन कमजोर हुँदै लुगलुग काँपेर हेर

आफ्नै सासलाई हरपल सरापेर हेर
मृत्यु पर्खर्दैं जीवनका दिन नापेर हेर

तिमी पनि एकतर्फी माया गरेर हेर
मुटुभरी तीता तिरस्कार भरेर हेर